चमत्कारिक सन्दीपकाे यसरी खुल्याे भाग्य, अार्इपिएलमा पाए १ नम्बरकै जर्सी
काठमाडाैं / आईपिएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दीप लामिछानेको जर्सी सार्वजनिक गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गरे ।
दिल्ली डेडरडेभिल्समा सन्दीपले एक नम्बरको जर्सी लगाउनेछन् । यो उनी आफैंले रोजेको नम्बर हो ।
आईपिएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारु (३२ लाख नेपाली रूपैयाँ) मा अनुबन्ध गरेको छ । उनी आर्इपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।
सिईओ डुआका अनुसार दिल्ली डेडरडेभिल्सले झण्डै एक वर्षदेखि सन्दीपलाई पछ्याएकाे थियो ।
कार्यक्रममा उनले भने, ‘अक्सनअघि सन्दीपलाई ट्रायलका दिल्ली बोलाइयो । उनकोमा ब्याटिङ गर्न ब्याट्सम्यान पनि तयार थिए । तर, पानी पर्यो । दिल्लीको आफ्नो इन्डोर सुविधा थिएन । हामीले सन्दीपलाई प्राइभेट गेमिङ सेन्टरमा लग्यौं, जहाँ बालबालिका आउँछन् र बलिङ मेसिनमा खेल्छन् । त्यहाँ सन्दीपले झण्डै आधा घन्टा बलिङ गरे ।’
उनले सन्दीपको बलिङ भिडियो आफ्नो मोबाइलमा रेकर्ड गरेकाे र त्यसलाई टिमका प्रशिक्षक रिकी पोन्टिङका साथै गौतम गाम्भीरलाई पठाएकाे सुनाए । डुआले भने, ‘रिकी पोन्टिङले धेरै मन पराए र हामीले उनलाई टिममा आवद्ध गर्ने निर्णयमा पुग्यौं ।’
