एक युवतीलाई मानब बेचबिखन मुद्धामा १५ वर्ष कैद फैसला
मकवानपुर,७ चैत । चितवन जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसारमा मकवानपुरकी एक महिलालाई १५ वर्ष कैद फैसला गरेको छ । उनलाई ४ वटा फरक फरक मुद्दामा कैद फैसला गरिएको हो ।
चैत ६ गते मंगलबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले विभिन्न चार घटनामा संलग्न प्रमाणित गर्दै मकवानपुर जिल्लाको हाँडीखोला बस्ने २५ वर्षीया उर्मिला तामाङलाई १५ वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । पहिलो मुद्दामा २ वर्ष, दोस्रोमा ११, तेस्रोमा १२ र चौथो मुद्दामा १५ वर्ष कैद सजाय सुनाइएको चितवन अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
सबै मुद्दामा कैद सजाय जोड्दा ४० वर्ष हुन्छ । तर, सबै भन्दा बढी सजाय १५ वर्ष रहेकाले उर्मिलाले १५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने पौडेलले बताए । यसै घटनाका अन्य दुई आरोपित महिलाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा चितवन कालिका नगरपालिका ८ बस्ने वर्ष ३२ को चन्द्रमाया रुम्बा र सोही ठाउँकी वर्ष २८ की सुकमाया तामाङ रहेकी छन् ।
बाबुआमा दुवै नभएकी १८ वर्षीया युवतीलाई २०७१ साल साउन २० गते किनमेल गर्न भनी नारायणगढ बजार आएको समयमा चितवनको कालिका–८ बस्ने माया भन्ने सुकमाया तामाङले भारतमा मासिक ५ हजारमा घरमा काम गर्न पाइन्छ भनी ललाइफकाइ पठाएको आरोप रहेको थियो ।
नयाँ दिल्लीमा उर्मिला तामाङसँग भेट भएको र उर्मिलाले गएको एक हप्तापछि वेश्यावृत्तिमा लगाएको आरोप रहेको थियो । दैनिक ३० जनासम्म आफूसँग यौन प्यास मेटाउने गरेको पीडितले बयान दिएकी थिईन् । २०७३ भदौ महिनामा दिल्लीमा रहेका एक नेपाली युवाको सहयोगले आफू भागेर नेपाल आउन सफल भएको उनले प्रहरीमा दिएको बयानमा उल्लेख छ । चितवन जिल्ला अदालतको २०७३ असोज १३ गतेको आदेशले पीडकहरु पूर्पक्षका लागि भरतपुर कारागारमा थुनामा पठाइएको थियो ।
