सौताको झगडाले सन्तानको जलाएर हत्या
रामेछाप, ५ चैत । रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–५ की तारा केसीले सौताको रिसले आफू बस्दै आएको कटेजमा गएराति आगो लगाउँदा सौताका दुई सन्तानको जलेर मृत्यु भएको छ । सौतासौता बीचको झगडाले उग्ररुप लिएपछि कटेजमा आगो लगाउँदा कटेजमा सुतिरहेका बालबालिकाको जलेर मृत्यु भएको हो ।
खाँडादेवी–६ पन्नेचउरका दिलबहादुर खत्रीको जेठी श्रीमति तारा केसीले आगो लगाउँदा कटेजभित्र सुतेका ४ वर्षीय छोरा विपीन खत्री र ३ वर्षीया छोरी रमीता खत्रीको मृत्यु भएको हो । केही समयअघि दिलबहादुरले कान्छी श्रीमति ल्याएको र जेठीलाई हेला गरेपछि सौतेनी झगडाको कारण दुखद घटना भएको पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
प्रहरी निरीक्षक थापाकाअनुसार श्रीमान श्रीमतिको विवाद चर्किदै जाँदा मध्यराति आफु बस्दै आएको कटेजमा ताराले आगो लगाएकी थिइन । आगोले दुई बालबालिकाको ज्यान लिनुका साथै कटेज भित्र राखिएको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । घटनापछि घटनामा संलग्न तारा केसी र उनका श्रीमानलाई नियन्त्रणमा लिएको छजिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
