कुखरेनीमा पुल नबनेपछि पदमपोखरीका वडाअध्यक्ष सहितको टोली जिससलाई गुहार्दै

तु खबर संवाददाता
२०७४ चैत्र ४, आईतवार १९:५५
फाईल तस्बिर, यस स्थानमा अहिले ४ वटा पिल्लरका लागि रड ठडिइसकेको छ ।

-चन्द्र घलान
मकवानपुर, ४ चैत ।
निर्धारित समय सकिएपछि समेत पुल निर्माणको काममा ढिलाई भएपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ का वडाअध्यक्ष सहितको टोली जिल्ला समन्वय समितिलाई गुहार माग्न पुगेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडा अध्यक्ष मनोज वाईबा, राजनीतिक दलका प्रतिनिधि र बुद्धिजीवीहरुको समूहले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसँग पुल निर्माण ढिलाई भएको भन्दै आईतबार गुनासो गरेका हुन् ।
वि.सं. २०७३ माघ १२ गते औपचारिक रुपमा पुल निर्माण कार्यको विधिवत सुरुवात गरिएता पनि अहिलेसम्म पुल बनेको छैन । २०७४ असोज २१ गते पुरा हुने गरी निर्माण सुरुवात गरिएको पुल निर्माण विभिन्न कारणले पुरा हुन नसकेको हो । समयमा पुल निर्माण हुन नसकेपछि तात्कालिन जिल्ला विकास समितिले ६ महिनाको समय थप गरेपनि अहिलेसम्म पुल निर्माणमा आलटाल हुँदै आएको छ ।

वडाध्यक्षहरुसँगको छलफलमा प्रमुख खुलालले जिल्ला समन्वय समितिबाट गर्नुपर्ने सबै काम भएको र कुनै कमजोरी नभएको बताएको वडा नम्बर १२ का वडाअध्यक्ष घलानले बताए । अब जिसससँग कारवाही गर्ने बाहेक अन्य कुनै विकल्प नभएको बताइएको छ । यस अघि १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाईको पुल भनेर नक्साङ्कन गरिए पनि त्यसमा प्राविधिक त्रुटि भएको र अहिले १०३ मिटरको साटो ११० मिटर लम्बाई भएको नयाँ नक्सा बनेको पुल निर्माण सरोकार समितिका संयोजक सोविन थिङले जानकारी दिएका छन् । थपिएको समयमा समेत नक्सा सच्चिएको र बर्खामा खोलाले बगाएको भन्दै बहाना देखाएर पुल निर्माणमा ढिलाई गरेको जिससको आरोप छ ।

वडा अध्यक्ष घलानले अहिले पनि पुल निर्माण भईरहेको तर निकै नै सुस्त रुपमा भएको बताए । ‘२–३ जना मात्र कामदार लगाइएको छ, यसरी कसरी बन्छ पुल ?’ उनले भने, ‘थपेको समय समेत सकिन थालिसक्यो पुलको पिल्लर पनि उठेको छैन ।’

अध्यक्ष घलानका अनुसार पुलका लागि १२ वटा पिल्लर उठाउनुपर्ने छ तर अहिलेसम्म ४ वटा पिल्लरको लागि मात्र रड ठडिएको छ । रड बार ठडिएता पनि अहिलेसम्म त्यसमा जोडाईको काम भएको छैन ।

बालुवा प्लान्टका कारण सडकमा बगेको पानी

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ र १३ को सिमानामा पर्ने कुख्रेनी खोलामा दैनिक रुपमा आवतजावत गर्नको लागि निकै नै समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पति र हेटौंडा–९ लामसुरेलाई जोड्ने गरी कुख्रेनी खोलामा पक्की पुल निर्माण कार्य थालिएको थियो । पुल निर्माण सरोकार समितिका संयोजक थिङले गएको माघ १५ गतेबाट काम सुचारु हुने समेत बताएका थिए । उनको भनाई अनुसार नै काम सुचारु भएता पनि अहिले फेरि काममा सुस्तता आएको छ ।

स्विस बिकासको प्राविधिक सहयोगमा नेपाल सरकारको प्रत्यक्ष लगानीमा पुलको निर्माण हुन लागेको हो । ५ करोड ९८ लाखको लागत अनुमान भएपनि टेण्डर प्रकृया अनुसार नागर्जुन शंकर मालिका जेबीले ४ करोड ६३ लाखमा निर्माणको जिम्मा लिएको थियो । १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाइ रहेको पुल २०७४ साल असोज २१ गते सम्पन्न हुने गरी निर्माण हुने सम्झौता भएको भएता पनि संयोजक थिङका अनुसार अहिले यसको लागत मुल्य बढ्नुका साथै लम्बाईमा समेत फेरबदल भएको छ ।

यता पुल निर्माणको मुख्य रेखदेख गरिरहेका पुल निर्माणकर्ता (ठेकदार) मध्येका मुख्य फुर्वा दोर्जे लामाले पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि झेल्नुपरेका कारण आफुहरुले काम ढिला भएको बताउँदै आएका छन् । उनले पुलको नक्सा नै पहिलेभन्दा हेरफेर भएकोले प्रशासनिक कार्य र नक्सा पूनः नयाँ बनाउनु पर्ने भएका कारण तोकिएको समयमा पुल निर्माण गर्न नसकेको र ड्रइङ सच्चिएर आएपछि पुल निर्माण क्रमशः भइरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*