गर्भवतीकोलागि बनेको प्रतिक्षा स्थल भवनमा चमेना गृह
मकवानपुर, ४ चैत । मकवानपुरको हेटौँडा अस्पताल परिसरमा रहेको गर्भवती प्रतिक्षा स्थल भवन वर्षौँदेखि चमेना गृहको रुपमा प्रयोग भएको खुलासा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले आज आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको खुलासा भएको हो ।
अहिले सम्म कसैले नि चासो नदिएको र आवाज नउठाएकाले गर्भवती महिला प्रतिक्षा आराम गर्ने स्थलको रुपमा स्थापना गरेको उक्त भवन चमेना गृहमा परिणत भएको सञ्चालन भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकले जानकारी दिए ।
छलफलकै क्रममा हेटौडा अस्पतालको परिसरमा रहेको चमेना गृह चाडैं नै खाली गराउन छलफल गरि निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन् । उक्त भवनलाई खाली गर्न स्थानिय जनप्रतिनिधि, अस्पताल समिति र नागरिक समाजका प्रतिनिधिहरु बीच छलफल गरि निर्णय लिने प्रजिअ बुढाले बताए । सरकारले स्थानिय तहमा नै गर्भवती महिलाको प्रतिक्षा स्थल निर्माणको थालनी सुरु गरेको छ तर जिल्ला अस्पतालमा नै उक्त स्थल नहुँदा लाजमर्दो अवस्था भएको वक्ताहरुले बताए ।
त्यस्तै मकवानपुरका ५६ प्रतिशत महिला अझैपनि स्वास्थकर्मीको सहयोगबिना सुत्केरी हुने गरेको तथ्याङ्क जिल्ला जनस्वास्थ्यले दिएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयले ५६ प्रतिशत महिलाहरु स्वास्थ्यकर्मीको सेवाबिना नै सुत्केरी हुने हुँदा उनीहरुको स्वास्थ्य जोखिममा रहेको बताइएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत भिमसागर गुँरागाईले जिल्लाका विकट क्षेत्रमा स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा जान नसकेको र महिलाहरु समेत सुत्केरी गराउन आउन नसकेको बताए । कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको हो ।
