मकवानपुरको खोलामा ब्यापाक चलखेल, बिना रसिद १ करोड २० लाख घोटाला

तु खबर संवाददाता
२०७४ चैत्र ४, आईतवार १२:५७

-हरि हुमागाईँ

मकवानपुर, ४ चैत । मकवानपुर र चितवनको सिमानामा रहेको लोथर खोलामा तीन वटा एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेरमात्र बिनारसिद एक करोड २० लाख रुपियाँ अवैधानिक तरिकाले रकम संकलन गरेको छ ।

मकवानपुर र चितवन जिल्ला समन्वय समितिका कर्मचारी, स्थानीय प्रशासनको मिलेमतोमा बिनारसिदको रकममात्र दुई महिनामा एक करोड भन्दा बढी रकम संकलन गरिएको हो । लोथर खोलामा चितवन समन्वय समितिले दुई वटा र मकवानपुर समन्वय समितिका तर्फबाट एउटा एक्साभेटरले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर ट्रिपलमा लोड गर्दाको मात्र धेरै रकम रसिद नकाटी संकलन गरिएको हो ।

ट्रिपरमा ढुंगा, गिट्टी, बालुवा लोड गरेर चितवनतर्फ लाग्दा ठेक्का लागेका निर्माण ब्यवसायीले रसिद काटेर प्रतिघनमिटरका दरले रकम संकलन गर्छन् । तर, खोला उत्खनन् गरेर ट्रिपरमा लोड गर्दा त्यहाँका युवा समूहले चितवनतर्फबाट बिनारसिद ७ सय रुपियाँ र मकवानपुरबाट प्रतिट्रिपर ६ सय रुपियाँ लिँदै आएको चितवन भण्डाराका ट्रिपरचालक श्यामबहादुर लामा बताउँछन् ।

रसिद काटेर आरक्षले प्रतिट्रिप दुईसय रुपियाँ लिन्छ । दुवैतर्फका निर्माण कम्पनीले घनमिटरका दरले रकम लिँदै आएका छन् । त्यस बाहेक ट्रिपरमा लोड र उत्खनन् शुल्क भन्दै ठूलो रकम लिँदै आएको यातायात ब्यवसायी र चालक बताउँछन् । लोथर खोलामा दुवै जिल्लाबाट त्रिपाल टाँगेर रसिद काट्न बसेको स्थानबाट गाढीको संकेत नम्बर दिएर बिनारसिद पैसा संकलन गरिँदै आएको उनीहरुको गुनासो छ ।

चितवन जिससले माघ र फागुनमा दुई वटा एक्साभेटरले उत्खनन् गरेर लोड गरेको बिना रसिद रकम उत्खनन् गरेबापत् रकम ९० लाख संकलन गरेको छ । मकवानपुर समन्वय समितिले भने माघ तेस्रो हस्ता उत्खनन् गर्न लोथर खोलामा चिह्न लगाए पनि उत्खनन् भने फागुन दोस्रो साताबाट मात्र सुरु गरेको छ । यहाँबाट भने समन्वय समितिका कर्मचारीको निर्देशनमा ३० लाख बिनारसिद रकम संकलन गरिएको छ । ढुंगा, गिट्टी, बालुवाको ठेक्का पाएको कम्पनीले जिल्लाभर यसको राजस्व उठाउने गरेको छ । उत्खनन् गरेर ट्रिपरलाई लोड गरिदिएबापत् प्रतिट्रिपर उत्खनन् गर्नेले ६ सय रुपियाँका दरले संकलन गरेको जिल्ला समन्वय समिति मकवानपुर समन्वय अधिकारी नारायणप्रसाद मैनालीले बताए ।

कार्यालयले नदीजन्य पदार्थको ठेक्का लगाएको र लोड पनि निर्माण कम्पनीले एक्साभेटरको भाडाबापत् लिएको हुनसक्ने उनले बताए । मकवानपुरमा लगाइएको एउटा एक्साभेटर दिनभर उत्खनन् गर्दा २४ हजार भाडा पर्छ । तर, यहाँ उत्खनन् गर्नेहरुले एक दिनमा एक लाख रुपियाँ बिनारसिद संकलन गरेका छन् । अवैध तरिकाले रकम संकलन गरेको विषयमा दुवै जिल्ला प्रशासन, प्रहरी र समन्वय समितिमा जानकारी दिँदा पनि त्यसको सुनुवाइ नभएको ट्रिपरचालक बताउँछन् ।

बिनारसिद पैसा संकलन गर्ने काम यस वर्षमात्र नभइ तीन वर्ष अघिदेखि चल्दै आएको स्थानीय बताउँछन् । लोथर खोलामा दुवै जिससले आईई गरेर खोला उत्खखन् गरेका छन् । तर, आरक्ष र समन्वय समितिको छाप लगाएर दुई वटा रसिद काटिन्छ । रसिद नकाटी संकलन भएको एक करोड भन्दा बढी रकम उत्खखन् गर्ने युवा, समन्वय समिति कर्मचारी, प्रहरी र स्थानीय प्रशासनका कर्मचारीलाई बुझाउने गरेको त्रिपाल टाँगेर बसेका एक युवाले बताए ।
मकवानपुरमा नदीजन्य पदार्थको ठेक्का पाएको कलेक्सन एण्ड म्यानेजमेन्ट प्रालि सञ्चालक रामहरी पाठकले भने जिल्लाभर जाने ढुंगा, गिट्टी, बालुवाको प्रतिघनमिटर ३ रुपियाँ ३९ पैसा र निकासीको हकमा प्रतिघनमिटर ५ रुपियाँ ६५ पैसा भ्याटसहित संकलन गरिएको बताउँछन् । त्यसबाहेक आफूलाई यसबारे कुनै जानकारी नभएको उनको भनाइ छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने बिनारसिद रकम संकलन गरिएको पाइए कारबाही गरिने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले लोथरमा बिना रसिद लोड गरिएको नाममा रकम संकलनका विषयमा अनुगमन पछिमात्र भन्न सकिने बताए । लोथर खोलामा ढुंगा, गिट्टी, बालुवा लिने झिसमिसेदेखि ट्रिपरहरुको लाइन लाग्ने गरेका छन् ।

-हेटौँडा सन्देश दैनिकको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*