पत्रकार महासंघ मकवानपुर अध्यक्षको राजीनामा माग, अध्यक्ष भन्छन्–‘मैले पत्रकारको अहित हुने काम गरेको छैन’

तु खबर संवाददाता
२०७४ चैत्र ४, आईतवार १२:१९

मकवानपुर, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईले नैतिकताका आधारमै राजीनमा दिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।

आईतवार संगठनका अध्यक्ष रुपा गुरुङसहितको टोलीले संगठनका तर्फबाट राजीनाम माग गरिएको पत्र बुझाउँदै महासंघका अध्यक्ष हुमागाईको राजीनामा माग गरेका हुन् । तर महासंघ अध्यक्ष हुमागाईँले भने राजिनामा माग गरिएको पत्र बुझ्न मानेनन् । आफु कुनै पनि अरु संस्थामा जोडिए पनि पत्रकारको अहित हुने कुनै काम नगरेको भन्दै उनले सो पत्र बुझ्न अस्विकार गरेका हुन् । संगठनले राजीनामै माग्नुपर्ने अवस्थामा पुगेर आफुले कुनै अप्रिय कार्य नगरेको भन्दै हुमागाईँले आफु अन्य विभिन्न संस्थामा पनि सदस्य भएको तर सधैँ पत्रकारहरुकै हकहितको लागि लागीपरिरहेको बताए ।

हुमागाईंले महासंघमा नेतृत्व लिएको एक वर्ष वितिसक्दा समेत पत्रकारको क्षमता विकासमा ध्यान नदिने, क्रान्तिकारी पत्रकारहरुलाई महासंघका कुनैपनि कार्यक्रम र गतिविधिमा संलग्न नगराउने र मेयरको प्रेस सल्लाहकार बन्न लालायित हुनुले महासंघको मर्यादामा आँच आएको आरोप लगाउँदै संगठनले हुमागाईंलाई तत्काल राजिनामा दिन माग गरेको हो ।

श्रमजीवी पत्रकारहरुको साझा सस्थाको अध्यक्ष भइरहेका बेला मेयरको प्रेस सल्लाहाकार भएकोले महासंघले गर्नुपर्ने श्रमजीवी पत्रकारको हक, हितको कार्य ओझेलमा पर्न गएको, अध्यक्षको उक्त गतिविधीले महासंघ जस्तो संस्थाको गरिमामय प्रतिष्ठाकै खिल्ली उडाएको क्रान्तिकारी पत्रकारले दाबी गरेको छ । उक्त कार्य महासंघको विधान र आजसम्मको अभ्यास विपरित रहेको भन्दै नैतिकताका आधारमा पनि हुमागाईले महासंघको अध्यक्ष पदबाट राजीनामा दिई अर्को व्यक्तिलाई जिम्मेवारी लिने मार्ग प्रशस्त गर्न संगठनले माग गरेको छ । यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालले अध्यक्ष हुमागाईले पदबाट तत्काल राजीनामा नदिए उनि बिरुद्ध बृहत भण्डाफोर अभियान छेड्ने चेतावनी समेत दिएको अध्यक्ष रुपा गुरुङले बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*