सिडिओ कार्यालयले नै गरेन प्रगति प्रतिवेदन सार्वजनिक – प्रजिअ भन्छन् : सार्वजनिक गर्छौ

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १९:१८

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आफ्नो मासिक प्रगति प्रतिवेदन सार्वजनिक नगरेको ६ महिना बितिसकेको छ । सर्वसाधारणलाई कार्यालयले सम्पादन गरेको कामकारवाही बारे जानकारी गराउने उद्धेश्यले यसअघि प्रमुख जिल्ला अधिकारी रहेका नारायणप्रसाद दवाडीले कार्यालयको मासिक प्रतिवेदन फेसबुक तथा अन्य सार्वजनिक संचारमाद्यमबाट बाहिर ल्याउने गरेका थिए । तर, मकवानपुरको प्रजिअ भएर चक्रबहादुर बुढा आइसकेपछि गएको भदौ महिनापछि त्यस्तो कुनै पनि विवरण सार्वजनिक हुन सकेको छैन ।
सूचनाको हक सम्बन्धी ऐनले हरेक ३-३ महिनामा स्वत यस्ता सूचनाहरु सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । त्यतिमात्र होइन, राष्ट्रिय सूचना आयोगले परिपत्रै गरेर हरेक ३ महिनामा यस्ता सूचना स्वतस्फूर्त सार्वजनिक गर्न भनेको छ । आयोगले जिल्लामा त्यसरी सूचना सार्वजनिक नगर्ने कार्यालयलाई कारवाही गर्नसमेत प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ । तर, जिम्मा लिने कार्यालयले नै आफ्नो कार्यालयको भए गरेका कामको सूचना महिनौसम्म पनि सार्वजनिक गरेको छैन ।

प्रत्येक महिना सार्वजनिक गर्छौ : प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा
मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले हरेक महिना स्वत सार्वजनिक गर्नु पर्ने सूचनाहरु आफ्नो कार्यालयबाट सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । सबै कार्यालयमा अनिवार्य सूचना अधिकारीको व्यवस्था र कार्यालयले सम्पादन गरेका सूचनाहरुको अभिलेख राखी सार्वजनिक गर्ने गरी केही दिनअघि निर्णय भएकोले एक दुई दिनभित्रै त्यो पूर्णरुपमा कार्यान्वयन हुने उनले बताए । उनका अनुसार, सिडिओ कार्यालयले मात्र होइन, जिल्लाभित्रका सबै कार्यालयले यस्ता सूचना सार्वजनिक गर्ने गरी आवश्यक वातावरण बनाईने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*