बाग्मती गाउँपालिकामा शिक्षा ऐन पारित

तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार ०७:५७

राईगाउँ,मकवानपुर २ चैत । मकवानपुरको पूर्वीक्षेत्रको बाग्मती गाउँपालिकाको बिहीबार बसेको गाउँसभाबाट शिक्षा ऐन पारित भएको छ । नेपालको संविधान २०७२ को भाग १८ को धारा २२१ र २२६ ,अनुसूची ८ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (ज) मारहेको काम,कर्तव्य र अधिकार कार्यान्वयन गर्न परिच्छेद १५ को दफा १०२ बमोजिम गाउँपालिकाले ऐन निर्माण गरेको गाउँपालिका शिक्षा संयोजक ध्रुव थापाले जानकारी दिएका छन् ।

गाउँपालिकाको हिजो बसेको गाउँसभामा ऐनमा तयारपारिएका व्यवस्थाहरू माथि छलफल गरि ऐन पारित गरिएको हो । संविधानले हाल स्थानिय सरकारलाई दिएको माध्यमिक तह सम्म शिक्षा व्यवस्था गर्न दिएको अधिकार तथा जिम्मेवारीलाई व्यवस्थित गर्न ऐन जारी गरिएको संयोजक थापाले बताए ।

यस ऐनमा शिक्षा सम्बन्धि केही नयाँ व्यवस्थाहरू पनि गरिएको बताइएको छ । ऐनमा बहालवाला जनप्रतिनिधिहरू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने ,विद्यालय व्यवस्थापन जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यत सरकारी तलव भत्ता उपभोग गर्ने जुनसुकै निकायका तथा तहका कर्मचारीहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाए ऐनले तोकिए बमोजिमको कर तिर्नु पर्ने ,गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई ऐनमा तोकिए बमोजिम आवधिक सरूवा गर्ने लगाएतका व्यवस्था ऐनमा गरिएको छ । साथै ऐन जारी भएसंगै शिक्षा क्षेत्रमा नीतिगत ढंगले कामकाज अगाडि बढाउन सहज हुने संयोजक थापाले जानकारी गराए ।

दोश्रो गाउँसभावाट पारित उक्त ऐनलाई नीतिगत ढंगले पारित गरि कार्यान्वयन गर्न राजपत्रमा प्रकाशन भए पछि मात्रै गरिने तथा हाललाई विधेयकको रूपमा पारित भएको गाउँपालिका अध्यक्ष सर्केश घलानका स्वकीय सचिव मनोज बलले जानकारी दिए ।

हाल सम्म गाउँपालिकाले सहकारी र शिक्षा गरि दुईवटा विधेयकहरू पारित गरेको र बाँकी ऐन तथा कानुन निर्माणको कार्य भईरहेको स्वकिय सचिव बलले बताए । शिक्षा ऐन निर्माणका लागि गाउँपालिकाले एक कार्यक्रम गरि पौष २६ गते सुझाव संकलन गरेको थियो ।

बाग्मती गाउँपालिकामा ३५ वटा प्राथमिक विद्यालय, १० वटा निम्न माध्यमिक विद्यालय र ५ वटा माध्यमिक विद्यालय गरि जम्मा ५० वटा सामुदायिक विद्यालय र संस्थागत विद्यालय २ वटा रहेको स्रोतव्यक्ति रविन्द्रप्रसाद चौधरीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*