‘आङ खस्ने’ बिरामीका लागि मसिनेमा निःशुल्क स्वास्थ्य शिविर
मकवानपुर, २ चैत । ‘आङ खस्ने’ अर्थात पाठेघर खस्ने सम्बन्धी समस्या भएका महिलाका लागि मनहरी गाउँपालिकाको वडा नम्बर ४ मसिनेमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना हुने भएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेबी, मनकामना, हेडम्बा र हेटौंडाबजारले संयुक्त रुपमा शिबिर सञ्चालन गर्न लागेको हो ।
हेटौँडाको ४ वटा लायन्स क्लबहरुले मसिनेस्थित पशुपतिनाथ माविमा पाठेघर तथा परिवार नियोजनसम्बन्धी निःशुल्क शिबिर सञ्चालन गर्न लागेका हुन् । चैत ७ गते बुधबार बिहान ८ बजेदेखि शिबिर सञ्चालन हुने लायन्स क्लब अफ हेटौंडा भुटनदेबीकी अध्यक्ष अंकिता सुमार्गीले जानकारी दिइन् । नेपालको अधिकांश ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या देखिएको र त्यो समस्या लुकाएर बस्ने प्रबृत्ति रहेकोले घरदैलोमै शिबिरको आयोजना गरिएको लायन्स क्लबले जनाएको छ ।
विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने र थप उपचारका लागि पनि सहयोग गरिने बताइएको छ ।
