प्रदेश नम्बर ३ मा जनप्रतिनिधिको तलब तोकियो, कसको कति तलब ? हेर्नुहोस्
मकवानपुर, २ फागुन । ३ नम्बर प्रदेशको बजेट चैत्र २० गतेसम्म ल्याउने तयारी भएको छ । बिहीबार अबेर सम्पन्न मन्त्रीपरिषद बैठकपछि सरकारले चैत २० गतेभित्र चालु आर्थिक बर्षका लागि बजेट ल्याउने निर्णय गरेको हो ।
बैठकले हिजोकै मितिबाट सरको प्रवक्ताको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले दिएको जानकारी अनुसार बैठकले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा, प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणिकरणसम्बन्धी विद्येयक २०७४, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी विद्येयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहका जनप्रतिनिधिहरुको तलब तोकेको छ । तर यसलाई प्रदेश सभाले अनुमोदन गर्न बाँकी छ । बैठकले गरेको निर्णय अनुसार महानगरपालिकाका मेयरले ४६ हजार तलब पाउने भएका छन् । त्यस्तै ३ हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २ सय डलर पाउनेछन् । यात्रा विमा १० लाखको हुने विधेयकमा उल्लेख छ ।
उपमेयरले ४० हजार २ सय र वडाध्यक्षले २८ हजार पाउने भएका छन् । त्यस्तै उपमहानगरका मेयरले ४० हजार २ सय, उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेभएका छन् ।
त्यस्तै नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हजार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार ,उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २ सय पाउनेछन् ।
यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।
