प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक आज बस्दै, निर्माण गरिएका कानुन संसदमा पेश गरिने

तु खबर संवाददाता
२०७४ चैत्र १, बिहीबार १२:५६
मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

मकवानपुर, १ चैत । प्रदेश नम्बर ३ को मन्त्री परिषद बैठक आज बस्दैछ । सरकारले पूर्णता पाएकै दिन फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक आज दोस्रो पटक बस्न थालेको हो । बैठकबाट हालसम्म निर्माण गरिएका कानूनको विधेयक संसदमा पेश गर्नका लागि प्रदेशसभा सचिवालयमा दर्ता गर्न सिफारिस गर्ने तयारी गरिएको छ ।

सरकारले पूर्णता पाएकै दिन बसेको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा कानून विधेयक लिखत समिति गठन गरेको थियो । समितिले तयार पारेको ३ वटा कानूनका विधेयक दर्ताका लागि मन्त्रिपरिषद् बैठक नबस्दा रोकिएपछि आज दिउँसो चार बजे बस्ने बैठकले विधेयक दर्ताका लागि सिफारिस गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ‘हामीले हालसम्म तयार पारेको विधेयक दर्ताका लागि आजको बैठकबाट सिफारिस गर्नेछौं ।’ कानून मन्त्री जम्कट्टेलले भने ‘सिफारिस पछि चैत २ गते शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता हुनेछ ।’

मन्त्रिपरिषद् बैठकले विधेयक तयार पारिएको लिखत प्रमाणिकरण सम्बन्धि ऐन, आर्थिक कार्यविधि सम्बन्धि ऐन र स्थानीय तहको सेवासुविधा सम्बन्धि ऐन दर्ताका लागि सिफारिस गर्ने मन्त्री जम्कट्टेलले जानकारी दिए । २२ कानून निर्माणमा जुटेको समितिले चैत मसान्तभित्र १० वटा कानूनको विधेयक तयार पार्ने उनले दाबी गरे । फागुन १४ गते प्रदेशसभा नियमावली परितपछि हालसम्म संसद बैठक बस्न सकेको छैन । समितिले तयार पारेको विधेयक चैत २ गते सचिवालयमा दर्तापछि बैठक कहिले बस्ने बारे अनिश्चितता कायमै छ ।

सभामुख सानुकुमार श्रेष्ठले कानूनका विधेयक दर्ता र उपराष्ट्र– पतिको निर्वाचन मितिलाई मध्येनजर गरेर बैठक बोलाइने बताए । ‘सरकारले विजनेश दिएपछि कहिले बैठक बोलाउने तय गर्न सकिन्छ ।’ उनले भने ‘यहि मितिमा बैठक हुन्छ भन्ने अवस्था छैन ।’ उनले छोटो समय बैठकका लागि सांसदलाई बोलाउँदा गुनासो आएकोले संसदले अलि बढी बिजनेश पाएपछि बैठक बोलाइने बताए । उनले उपराष्ट्रपतिको निर्वाचन मिति तय भसँगै संसद बैठकको मिति तय गरिने जानकारी दिए ।

मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नम्बर ३ हेटौँडा, मकवानपुर

–हेटौँडा सन्देशको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*