ऐतिहासिक बन्यो लेकाली बसिफाँटको रजत जयन्ती
चन्द्र घलान
मकवानपुर, १ चैत । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले फागुन २८ गतेदेखि ३० गतेसम्म विविध कार्यक्रमहरुको आयोजना गरि विद्यालयले २५ वर्ष पुरा गरेको अवसरमा आफ्नो रजत जयन्तीलाई ऐतिहासिक बनाएको छ । ‘समाजवादका लागि अनिवार्य आवश्यकता, जीवनोपयोगी शिक्षा हाम्रो प्रतिबद्धता’ हाम्रो मूल नाराका साथान रजत जयन्ती समारोह गरिएको हो ।
विद्यालयले रजत जयन्तीका अवसरमा अभिभावक र विद्यार्थीदेखि स्वर्गीय संस्थापक तथा सहयोगी व्यक्तित्वहरुलाई समेत सम्झिएको छ । त्यतिमात्र होईन जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, कवित तथा कलाकारहरुलाई समेत एउटै मञ्चमा एकत्रित गरेर आफ्नो विद्यार्थी र विद्यालयको गौरवलाई अझ माथि उकास्न सफल भएको छ । वि.सं. २०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ ।
‘जीवितदेखि स्वर्गीय भएका सहयोगीलाई सम्मान’
विद्यालयले रजत जयन्तीका अवसरमा विद्यालयलाई विभिन्न सहयोग गरेकाहरुलाई उच्च सम्मानका साथमा सम्झिएको छ । विद्यालयलाई नगद ५ हजारभन्दा बढी सहयोग गर्ने र अन्य सहयोगीहरुलाई समेत विद्यालयले सम्मानका साथ कदरपत्र प्रदान गरेको छ । रजत जयन्तीको तेस्रो दिन प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जाईटी जापानका अध्यक्ष आचुसी कोवायासीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुलाई कदरपत्र प्रदान तथा सम्मान गरिएको हो ।
प्रमुख अतिथि मोक्तानले रजत स्तम्भको अनावरण गरेर कार्यक्रमको उद्घाटन गरेपश्चात कदर तथा सम्मान गरिएको हो । विद्यालयका पूर्व अध्यक्षहरु तथा पूर्व प्रधानाध्यापकहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यालयलाई अहम योगदान गर्दै तात्कालिन अघोर प्राथमिक विद्यालयलाई जग्गादान गर्ने समाजसेवी अक्कलबहादुर केसीलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयमा अहम योगदान पुराएका शिक्षा मन्त्रालयका पूर्व सहसचिव भिमलाल गुरुङ, विद्यालय स्थापना गर्ने जापानिज समाजसेवी तथा जाईटीका पूर्व अध्इक्ष किकुची केन्सुकेलाई समेत सम्मान गरिएको छ । त्यस्तै विद्यालयका लागि ३२ रोपनी जग्गादान गर्ने स्वर्गीय लोप्साङ तेन्जेङ शेर्पा तथा विद्यालयका संस्थापक जापानिज समाजसेवी साकाया कोवायासीलाई मरणोपरान्त सम्मान गरिएको छ ।
‘अभिभावक, विद्यार्थी र शिक्षकका लागि विविध कार्यक्रम’
विद्यालयले रजत जयन्तीका अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई समेट्ने गरि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । रजत जयन्तीको ३ दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालयको स्मारिका विमोचन गर्दै भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले रजत जयन्ती समारोहको उद्घाटन गरेका थिए ।
त्यसै दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकका लागि घैँटो फुटाउने प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा अभिभावक प्रमिला लामा विजयी भएकी छिन् । त्यस्तै पूर्व शिक्षक तथा हाल अध्यापन गराई रहेका शिक्षकहरुका लागि म्यूजिक चियर प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा पूर्व शिक्षक रामकुमार बल प्रथम भए । त्यस्तै शिक्षक यश लामा द्वित्तिय र पूर्व शिक्षक रमेश रुम्बा तृतिय भए ।
त्यस्तै हाजिर जवाफ प्रतियोगितामा लेकाली बसिफाँट मावि प्रथम, जाल्पादेवी मावि द्वित्तिय र हिमालयन ईङ्ग्लीस् बोर्डिङ स्कुल तृतय भएको छ । ‘बाल बिवाह एक, सामाजिक रोग अनेक’ बिषयक बक्तृत्वकला समेत सम्पन्न भएको छ ।
त्यस्तै दोस्रो दिन थाहा नगरपालिकाका मेयर लवशेर विष्टले विज्ञान चित्रकला प्रदशनीमा राखिएको विद्यार्थीहरुद्वारा निर्मित स्मार्ट सिटिको सानो ट्रेन गुडाएर कार्यक्रमको उद्घाटन गरेका थिए । सोही दिन अन्तर मावि स्तरीय कविता प्रतियोगिता समेत भएको छ । कविता प्रतियोगितामा लेकाली बसिफाँट मावि प्रथम र जनकल्याण माविका विद्यार्थीहरु दोस्रो र तेस्रो भएका थिए ।
‘२ दर्जन कविहरु एउटै मञ्चमा’
तीन दिवशीय कार्यक्रम अन्तर्गत दोस्रो दिन कवि सम्मेलन गरिएको थियो । मकवानपुरका प्रतिष्ठित कवि तथा साहित्यकारहरुको सहभागितामा विद्यालयले कवि सम्मेलनको साथै माध्यमिक तहमा साहित्य विषयक कार्यपत्रसमेत प्रस्तुत गरिएको हो ।
कार्यपत्र प्रस्तुत गर्दै मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा समेटिएका साहित्यिक रचनाहरुमा बाहुन क्षेत्री समुदाय एवम् पहाडी समुदायलाई मात्र समेटेको विश्लेषण गरे । आजको समाजको मनोविज्ञान अनुसारका सबै क्षेत्र, समुदाय, विषय, धर्म, जाती, लिङ्ग, विचार आदि समेट्न सक्ने साहित्यिक रचनाको छनौटमा विवेक पु¥याउनुपर्ने उनले औंल्याए । विद्यार्थी, कक्षाकोठा, विषय शिक्षक र पाठ्यक्रमको उद्देश्य अनुकुल हुने गरी समेत पाठ्यपुस्तकमा साहित्यिक रचना छनौट गरिनुपनेृ घिमिरेको सुझाव थियो । विद्यार्थिमा नकारात्मक सन्देश प्रवाह हुने किसिमको निराशावादी र पलायनवादी विचार समेटिएको साहित्यिक रचनालाई समेटिनुपर्नेमा उनको जोड थियो ।
रजत जयन्ती समारोहको दोस्रो दिन भएको कवि सम्मेलनमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झर्ना साहित्य परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अन्जान, साहित्यकार सुवास खनाल, एसके निधन, तुल्सी घिमिरे, अमृता नेपाल, शान्तिप्रिय बन्दना, भावना सापकोटा, प्रमोद अधिकारी, धर्मराज स्याङ्तान, केशब समर्पण, विशाल अधिकारी, विपिन सुबेदीलगायतले कविता तथा गजल बाचन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाका अध्यक्ष अरुण रायमाझी, जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानलगायतले शुभकामना मन्तव्य वयक्त गरेका थिए ।
‘विज्ञान चिलकला प्रदर्शनी, स्वास्थ्य शिविर र सांस्कृतिक कार्यक्रम’
विद्यालयले रजत जयन्तीका अवशरमा विज्ञान चित्रकला प्रदर्शनी, स्वास्थ्य शिविरको आयोजनाको साथै विविध सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको शिक्षक यश लामाले जानकारी दिएका छन् ।
विज्ञान चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीहरुद्वारा निर्मित विज्ञानसँग सम्बन्धित चित्र तथा विद्यार्थीहरुले नै निर्माण गरेका विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको थियो । त्यस्तै स्वास्थ्य शिविरमा स्थानीय करिब ८० जनाले स्वास्थ्य जाँच गराएका थिए । त्यस्तै कार्यक्रमको समापनका दिन विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा मेरी बास्सैका कलाकार एवं विद्यालयका पूर्व शिक्षक कल्याण राई र थाहा कलाकेन्द्रले समेत जोडदार प्रस्तुति दिएका थिए ।
सांसद मोक्तानको अध्यक्षता तथा जाईटी जापानका कोवायासीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोदकुमार लामाको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा थाहा नगरपालिका माओवादी केन्द्रका अध्यक्ष अरुण रायमाझी, जनकल्याण माविका प्रधानाध्यापक सानुभाई कार्की लगायतको आतिथ्यता रहेको थियो ।
