मनहरीमा घटना व्यवस्थापन तालिम
मकवानपुर ३० फगुन । मकवानपुरको मनहरी गाउँपालिकामा बाल संरक्षण समितिका पदाधिकारीहरुका लागि घटना व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल मकवानपुरको आर्थिक सहयोग, बालकल्याण समाज मकवानपुरको प्राविधिक सहयोग तथा मनहरी गाउँपालिकाको समन्वयमा तीन दिने घटना व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको हो ।
जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई संरक्षणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकृयाबारे बाल संरक्षण समितिका सदस्यलाई जानकारी गराउनका लागि प्रदान गरिएको तालिममा बालअधिकारकर्मी सुशीलराज गिरीले सहजीकरण गरेका हुन् ।
बालकल्याण समाज मकवानपुरले मकवानपुरका विभिन्न गाउँपालिकामा बाल संरक्षणका लागि प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोगमा बाल संरक्षणका लागि बाल संरक्षण संयन्त्र निर्माण तथा संयन्त्रका सदस्यहरुका लागि बाल संरक्षण सम्बन्धि तालिम प्रदान गर्दै आइरहेको छ ।
मकवानपुरको मनहरी, मकवानपुरगढी, इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा गाउँपालिका तथा वडास्तरिय बाल संरक्षण समिति गठन गर्ने कार्य भइरहेको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । यस्तै, बालसंरक्षण समितिका सदस्यलाई समितिका अधिकार तथा कर्तव्य सम्बन्धि क्षमता अभिवृद्घि गर्न तालिम प्रदान गर्ने काम भइरहेको फुयालले जानकारी दिए ।
