आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागि परेको भन्दै काँग्रेस मनहरीले गर्यो जिल्ला सदस्य मैनालीमाथी कारबाहीको माग
मकवानपुर २८ फागुन । स्थानीय तहको निर्वाचन तथा वन समितिको निर्वाचनमा काँग्रेसको आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस आमन्त्रित जिल्ला सदस्य कमला मैनालीलाई कारबाहीको माग गरिएको छ ।
काँग्रेस साविक मनहरी गाउँ इकाइ सभापति एवम् मनहरी गाउँपालिका संयोजक नारायण उप्रेतीको अध्यक्षतामा बसेको बैठकले कारबाहीको माग गर्दै काँग्रेस क्षेत्रीय समिति एवम् जिल्ला समितिलाई पत्र बुझाएका छन् ।
स्थानीय निर्वाचनमा मनहरी गाउँपालिका–८ का वडा अध्यक्षका उम्मेदवार मानबहादुर मुक्तानलाई हराउन लागिपरेको र करिब एक महिना अघि भएको सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवार गाउँ इकाइ सभापति एवम् मनहरी गाउँपालिका संयोजक नारायण उप्रेतीलाई हराउन लागिपरेको आरोप लगाइएको छ ।
स्थानीय निर्वाचनमा वडा अध्यक्षका काँग्रेसका उम्मेदवार मुक्तान १८ मतले पराजित भएका थिए भने सिमपानी देवकोट वन समितिको निर्वाचनमा काँग्रेसका उम्मेदवार उप्रेती २७ मतले विजयी भएका थिए । ‘काँग्रेसको आमन्त्रित जिल्ला सदस्य पदमा रहेका मैनालीले वडा सदस्यका उम्मेदवार पुतलीमाया नेपालीसंग नै काँग्रेसका उम्मेदवारलाई भोट नहाल्नू हराउनुपर्छ भनेको जानकारी पायौं ।
पटक पटक विभिन्न निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन लागिपर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो’, काँग्रेस गाउँ इकाइ सभापति एवम् मनहरी गाउँपालिका संयोजक नारायण उप्रेतीले भने, ‘घटनाको विवरणसहित हामीले क्षेत्रीय सभापति लोक मुक्तान र पार्टी जिल्ला सचिव बुद्ध लामालाई कारबाहीको मागसहित पत्र दिएका छौं । पार्टी सभापतिलाई पनि जानकारी गराएका छौं ।’ काँग्रेसका नेता भएर वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपरेको आरोप लगाउँदै साधारणस सदस्य समेत नरहने गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।
