ईन्द्रसरोबरमा महिलालाई हाते ट्रयाक्टर वितरण
मकवानपुर, २८ फागुन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत मार्खु र फाखेलका कृषक समूहलाई हाते ट्रयाक्टर बितरण गरिएकोे छ ।
ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई मार्खुमा ३ र फाखेलमा ४ वटा गरि ७ वटा ट्रयाक्टर वितरण गरिएको हो ।नारी सिप सृजना केन्द्र मकवानपुरले अक्सफाम नेपालसँगको साझेदारीमा सञ्चालित मकवानपुर जिविकोपार्जन पुर्नउत्थान परियोजना अन्तरगत ट्रयाक्टर बितरण भएको बताइएको छ ।
महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको नारी सिपले जनाएको छ । कृषि क्षेत्रमा उपयोगी ट्रयाक्टर सहयोग गरेको भन्दै जनप्रतिनिधी, सहकारी प्रतिनिधी र किसानहरुले नारीसिप सृजना केन्द्रलाई धन्यवाद दिएका थिए ।
ईन्द्रसरोवर गाउँपालिका १ का वडा अध्यक्ष जमानसिंह वाईबाको प्रमुख अतिथ्य तथा ईन्द्रसरोवर कृषि सहकारीका सचिव सानु लामाको अध्यक्षतामा मार्खुमा वितरण गरिएको हो । त्यस्तै, फाखेलमा गरिएको वितरण कार्यक्रम ईन्द्रसरोवर ४ का वडा अध्यक्ष धनवीर स्याङतानको प्रमुख अतिथ्यतामा गरिएको थियो । दुवै कार्यक्रममा नारीसिप सृजना केन्द्रकी उपाध्यक्ष गणेशकुमारी श्रेष्ठ लगायतको अतिथ्यता रहेको थियो ।
मकवानपुरको भुकम्प प्रभावित साबिक गाउँ विकास समितीहरु चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, नामटार, भार्ता र कालिकाटार गरी ८ गाबिस परियोजनाको कार्यक्षेत्र रहेको छ । परियोजना अन्र्तगत अन्य ६ कार्यक्षेत्रमा समेत गरि २१ थान ट्रयाक्टर बितरण गरिने कार्यक्रम संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।
