मेयर कपको उपाधिको लागि वडा नम्बर ९ र १० भिड्ने
मकवानपुर, २७ फागुन । हेटौंडामा फागुन १९ गतेदेखि सञ्चालन भैरहेको मेयर कप फुटबल–२०७४ को उपाधिको लागि ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १० नम्बर वडाको भूटनदेवी माता फुटबल टिम भिड्ने पक्का भएको छ ।
आईतबार भएको अन्तिम सेमीफाइनल खेलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई हराएको हो भने कुष्माण्ड टिमले २ नम्बर वडाको वनस्खण्डी टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । पहिलो सेमीफाइनलमा भूटनदेवी टिमले १६ नम्बर वडालाई ४–० गोल अन्तरले हराएको छ । एकपक्षीय खेलमा भूटनदेवी माता टिमको लागि आठौं मिनेटमा सुरज बिष्टले गोल गर्दै अग्रता दिलाएका थिए । २४ औं मिनेटमा रिजन लामाले अग्रता दोब्बर पारे । ५४ औं मिनेटमा रिजन लामाको पासमा सुशान्त लामाले हेडमार्फत गोल गरे । यस्तै ७० औं मिनेटमा सुमन छुमीले टिमको लागि शान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका मिडफिल्डर विवेक गुरुङ भए । उनले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
दोस्रो सेमीफाइनलमा २ नम्बर वडाको वनस्खण्डी टिमलाई १–० गोल अन्तरको कठिन जित निकाल्दै ९ नम्बर वडाको कुष्माण्ड टिमले १० नम्बर वडासंगको भिडन्त पक्का गरेको हो । खेलमा कुष्माण्ड टिमका फरवार्ड अमिर श्रेष्ठ नायक भए । उनले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच समेत भएका श्रेष्ठले भ्वाइस अफ यूथ चौकिटोल हेटौंडाको तर्फबाट नगद एकहजार रुपैंयासहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
मेयरकप फुटबलको फाइनल भिडन्त पर्सी मङ्गलबार दिउँसो हुने छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भैरहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश : नगद एकलाख ५० हजार र ७५ हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
