मुख्यमन्त्री पौडेलको सचिवालय लथालिङ्ग
मकवानपुर, २७ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालय लथालिङ्ग अवस्थामा छ । मकवानपुर सहित ३ नम्बर प्रदेशका अन्य जिल्लाबाट मुख्यमन्त्रीको बारेमा जानकारी र सूचना लिन पत्रकारहरुलाई निक्कै नै सास्ती खेप्नु परिरहेको छ ।
मुख्यमन्त्रीको सचिवालयमा कति कर्मचारी रहने र के–कति सेवा सुविधा पाउने भन्ने कुरा स्पष्ट नभए पछि सचिवालयको अवस्था गञ्जागोल बनिरहेको अनुमान गरिएको छ । हाल केन्द्रले ३ जना सदस्य सचिवालयमा राख्न पाउने आँशिक निर्देशन दिएको मुख्यमन्त्री निकट श्रोत बताउँछ । मुख्यमन्त्रीको सचिवालयलाई अहिले अनुप पौडेल एक्लैले सम्हालिरहेका छन् तर उनको व्यक्तिगत मोबाईलमा सूचनाका लागि फोन गर्ने संचारकर्मीहरुको लाईन लागेपछि तत्काल महत्वपूर्ण सूचना लिन नसक्ने अवस्था सिर्जना भएको छ ।
सचिवालयका पौडेलको फोन व्यस्त भएपछि मुख्यमन्त्रीको सूचना लिनका लागि पत्रकारहरुले मुख्यमन्त्रीकै निजी सम्पर्क नम्बरमा फोन सम्पर्क गर्छन् तर फोन कहिले उनको नातीले उठाउँछन् त कहिले उनको आफन्तले, जसका कारण सूचना लिने पत्रकारहरु समेत आजित बनेको बताउँछन् । ‘मुख्यमन्त्रीको बारेमा सूचना लिनलाई उहाँको निजी नम्बरमा फोन गर्यो भने उहाँको नातीले उठाउनुहुन्छ’, एक पत्रकारले बताए ।
प्रदेश नम्बर ३ को सरकारको प्रवक्ता समेत नतोकिएको हुँदा अहिले सूचना लिन निकै सास्ती खेप्नु परेको पत्रकारहरु बताउँछन् ।
