पदम मिलनको ११ औँ साधारण सभा सम्पन्न, पत्रकारसहित उत्कृष्ट समूहलाई सम्मान
मकवानपुर, २७ फागुन । पदम मिलन उपभोक्ता समितिको ११ औँ साधारणसभा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदपमोखरीमा सम्पन्न भएको छ । पदमपोखरीको महेन्द्र माविमा भएको साधारणसभामा एक पत्रकार सहित समितिका उत्कृष्ट ३ समूहलाई समेत सम्मान गरिएको छ ।
कार्यक्रममा तामाङ सञ्चार समूह मकवानपुरका अध्यक्ष तथा तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पदमपोखरी क्षेत्रको समाचार सम्पे्रषणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । त्यस्तै समितिमा आवद्ध ४० समूह मध्ये उत्कृष्ट ३ समूहलाई सम्मान गरिएको छ । समितिमा रहि उत्कृष्ट कार्य गरिएको भन्दै डाँफे उपभोक्ता समूह, सृजनशिल उपभोक्ता समूह र परामर्श उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।
कार्यक्रममा समितिका सहयोगी संस्था तथा १३ नम्बर वडाका जनप्रतिनिधिहरुमा वडा अध्यक्ष मनोजकुमार वाईबासहित सदस्यहरु रुपा खुलाल, विष्णु परियार, सन्तबहादुर तितुङ र दलबहादुर बललाई बधाई ज्ञापन समेत गरिएको समितिकी सचिव तथा कार्यक्रम सञ्चालिका तारादेवी मोक्तानले जानकारी दिईन् ।
कार्यक्रममा पदमपोखरीमा समेत पर्सा राष्ट्रिय निकुञ्जको पोष्ट राख्ने विषयमा छलफल समेत भएको थियो । उपभोक्ता समितिले यस विषयमा विभिन्न समूहहरुसँग छलफल गरेर मात्र पोष्ट राख्ने वा नराख्ने विषयमा निर्णय गर्ने निष्कर्श निकालेको छ ।
समितिका अध्यक्ष राजकुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापनक समितिका अध्यक्ष पदमबहादुर तितुङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १३ का वडाअध्यक्ष मनोजकुमार वाईबा, तराई भूपरिधि कार्यक्रम (ताल–TAL) का सहजकर्ता सुरज थिङ, जेट.एस.एल नेपालका प्रकाश सिग्देल, एन.टी.एन.सी.का राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमोद रेग्मी लगायतले मन्तव्य राखेका थिए ।
