वडा सदस्यले काम गर्न दिएनन्–अध्यक्ष, सामान्य छलफल मात्र भएको हो–सदस्य
मनहरी, २५ फागुन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दबाब दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई मुख छाडेको आरोप लागेको छ । वडा सदस्यको असहयोग भएपछि काम प्रभावित भएको बताइएको छ ।
मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको थियो । उक्त कार्यमा वडा सदस्य बिष्णुबहादुर थिङले निर्माण उपभोक्ता समितिका अध्यक्ष होत्तप्रसाद अधिकारीलाई मुख छाड्दै काममा हस्तक्षेप गरेको अधिकारीले आरोप लगाए । ‘२ दिनदेखि नियमित रुपमा काम भैरहेको थियो । आधा भन्दा बढी काम सम्पन्न गरिसकेका थियौँ अध्यक्ष अधिकारीले भने, आज काम भैरहेको समयमा निर्वाचित वडा सदस्यले उनले भने अनुसारको काम नगरेको भन्दै मलाई नानाभाती मुख छाडेर पैसा निकासा रोकिदिन्छु र मुद्दा हालिदिन्छु भनेपछि फाइल जिम्मा लगाएर हिँड्न बाध्य भएँ ।’
वडा सदस्य थिङले आफ्नो निजी स्वार्थमा गाउँमै रहेको ओम शान्तिको भवन अगााडी डस्ट खसाल्न लगाएको बिषयमा वडा सदस्य र उपभोक्ता समिति अध्यक्ष वीचमा विवाद भएको स्थानीयले बताएका छन् । ‘मैले बाध्य भएर ओम शान्ति भवन अगाडी ५ ट्रिप डस्ट खसालिदिएँ, त्यतिले नि नभएपछि काम भैरहेको ठाउँमा आएर सबैको अगाडी मलाई तथानाम गाली गर्ने काम भयो’ अधिकारीले गुनासो गर्दै थपे, ‘विकासको काममा वडा सदस्यले चाहिने भन्दा बढी राजनीति गर्न खोजेको देखियो । म माथि गाली बेइज्जती भएको छ । यस्तो अवस्थामा काम गर्न सकिन्न ।’ वडा सदस्यमा निर्वाचित भएदेखि नै थिङले सामाजिक काममा किचलो गर्ने गरेको स्थानीयको आरोप छ ।
यता वडा सदस्य थिङलाई घटनाको बिषयमा बुझ्दा एकोहोरो कुरा सुनेर समाचार लेख्ने भए लेखे हुन्छ भन्दै चर्किए । पछि उनले ओम शान्तिको भवन अगााडी ६–७ ट्रिप डस्ट चाहिनेमा ५ ट्रिप मात्रै खसालेकोले सामान्य छलफल भएको प्रतिकृया दिए । ‘मैले मुख छाडेको छैन, मुद्दा हाल्छु पनि भनेको होइन,’ उनले भने, ‘हामीले भने अनुसार काम नहुने भए पछि फछ्र्यौट गर्न गारो हुनसक्छ मात्रै भनेको हुँ ।’ थिङ एमालेबाट निर्वाचित वडा सदस्य हुन् भने अधिकारी नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
