विप्लवद्वारा मेयरपछि गाउँपालिका अध्यक्षको राजिनामा माग

तु खबर संवाददाता
२०७४ फाल्गुन २५, शुक्रबार १६:४७

मकवानपुर, २५ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई केही समय अघि राजिनामा मागेपछि एकाएक सल्बलाएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एक गाउँपालिका अध्यक्षलाई राजिनामा माग गरेका छन् । कम्युनिष्ट पार्टीले बकैया गाँउपलिकाको अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेका हुन् ।

शुक्रबार अध्यक्ष खनाललाई कार्यालयमा भेटी जनताको विकास र समृद्धिको लागी राजिनामा गरेर सहयोग गर्न आग्रह गर्दै लिखित राजिनामा माग पत्र हातमा थमाएका हुन् । कम्युनिष्ट पार्टी बकैयाका इन्चार्ज प्रल्हाद गौतमले बुदाँगत रुपमा विभीन्न माग पेश गरि गाँउपालिका अध्यक्ष खनाललाई लिखित राजिनामा पत्र दिएका थिए । बकैयाको योजना सञ्चालन र अनुगमन, जनसत्तासँग सहकार्य गरि मात्र सञ्चालन गर्न, विवादित गाउँपालिका केन्द्र सार्ने निर्णय तत्काल बदर गर्न र जनप्रतिनिधीले स्वेच्छाचारी रुपमा विलासी गाडी तथा सेवा सुविधा रोक्न माग गर्दै राजिनामा गर्न माग गरेको हो ।

कम्युनिष्ट पार्टीको तर्फबाट जनपरिषद प्रमुख निर्दोष क्षेत्रीको हस्ताक्षर भएको पत्र इन्चार्ज गौतमले गाउँपालिका अध्यक्ष खनाललाई कार्यकक्षमा हस्तान्तरण गरेका थिए । गौतमले बकैयाका उपाध्यक्ष सहित १२ वडाका वडा अध्यक्षलाई पनि राजिनामाको लागी लिखित रुपमा आग्रह गर्ने बताए ।

यस अघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेका थिए ।

पार्टीका मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको थियो । महत हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखिनै उनले भ्रष्टाचार, कमिशनखोर र दलालहरुको संरक्षण गर्ने गरेको भन्दै उनको राजीनामा माग गरिएको थियो । महतले राजीनामा नदिएमा उनलाई जनकारवाहीको चेतावनी समेत दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*