तामाङ सञ्चार समूह अध्यक्षमा वाईबाको आकाँक्षा, सचिवमा रुम्बाको चर्चा

तु खबर संवाददाता
२०७४ फाल्गुन २५, शुक्रबार १२:५३
नवराज वाईबा र दिलबहादुर रुम्बा

मकवानपुर, २५ फागुन । मकवानपुरमा कार्यरत तामाङ सञ्चारकर्मीहरुको संगठन तामाङ सञ्चार समूह मकवानपुर शाखाको अध्यक्षका उम्मेदवारका रुपमा नवराज वाईबा पनि आकाँक्षी देखिएका छन् ।

बिगत ६ वर्षदेखि निरन्तर रुपमा ‘ताम्सालिङ काअी’ साप्ताहिकका प्रकाशक–सम्पादकका रुपमा कार्य गरिरहेका वाईबाले आफु निर्वाचनको प्रकृयामा नजाने तर सर्वसम्मत रुपमा अध्यक्ष चुनिएमा मात्र नेतृत्व लिने पक्षमा देखिएका छन् । ‘चुनाव नै भयो भने म अध्यक्षमा दाबी गर्दिन’, उनले भने, ‘तर साथीहरुले सहमति गरेमा म अध्यक्षमा ईच्छुक छु ।’

यता कुनै पनि हालतमा अध्यक्ष पद नछोड्ने अडानमा रहेका अध्यक्षका आकांक्षा शुभराज भोम्जनले समेत आफु अध्यक्षमा सहमति भए पछि हट्ने आश्वासन दिएको उनले सुनाए । वाईबा हाल रेडियो निकासमा समाचार तामाङ भाषाको कार्यक्रम संचालन गर्नुका साथै नेपाली भाषामा समाचार पनि वाचन गर्छन् । वाईबा यस अघि पनि कोषाध्यक्ष पदम थिए तर बिचमा उनले चित्त नबुझेको भन्दै उक्त पदबाट राजिनामा दिएका थिए ।

यस अघि नै समुहकी अध्यक्ष दुदुमाया सिन्तान, उपाध्यक्ष धर्मराज स्याङ्तान, सहसचिव चन्द्र घलान र सदस्य शुभराज भोम्जन समेत अध्यक्षका लागि आकाँक्षी देखिसकिएका छन् । वाईबा सँगै अध्यक्षका आकाँक्षीमा ५ जना देखिएका छन् ।

त्यस्तै समूहको सचिवमा दिलबहादुर लामा आकाँक्षीका रुपमा देखिएका छन् । उनले उपाध्यक्षमा पनि आकाँक्षा रहेको देखिएको छ । हाल रेडियो ताम्सालिङका स्टेसन म्यानेजर सञ्चालक समेत रहेका उनले वि.सं. २०६६ सालबाट निकास साप्ताहिकमार्फत पत्रकारिता सुरु गरेका हुन् । त्यसका साथै काठमाडौँबाट प्रकाशन हुने ‘छार गोङ्बा मासिक’ र ताम्सालिङ सरोकारमा समेत जिल्ला रिपोर्टर भएर काम गरेका थिए । उनी रेडियो निकास र ताम्सालिङ खबर साप्ताहिकमा समेत कार्यरत थिए । उनी हाल कार्य समितिका कोषाध्यक्ष पनि हुन् ।

नवराज वाईबा र दिलबहादुर रुम्बा

समूहको दोस्रो अधिवेशन यही फागुन २६ गते शनिबार हुँदैछ । नेपाल पत्रकार महासंघको सभाहल हेटौँडामा बिहान ११ बजेबाट हुने अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्दैछ ।

अध्यक्षकी आकाँक्षीका रुपमा देखिएकी अध्यक्ष सिन्तान हाल रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा समाचारवाचक तथा कार्यक्रम प्रस्तुत गर्छिन् । उनले मकवानपुरमा नै वि.सं. २०६४ सालमा नेशनल एफ.एम.बाट समाचारवाचकको रुपमा पत्रकारिता सुरु गरेकी थिईन् । उनी जिल्लाकै पहिलो तामाङ भाषाको समाचारवाचक महिला पत्रकार समेत हुन् । त्यसको लगत्तै उनी वि.सं. २०६६ सालमा ईक्वेल एक्सेसमा साथीसँग मनका कुरा र नयाँ नेपाल कार्यक्रमको जिल्ला सामुदायिक अनुसन्धानकर्ताका रुपमा आवद्ध भईन् । उनले वि.सं. २०६६ सालमा रेडियो थाहासञ्चारमा नेपाली भाषाको समाचारवाचक तथा तामाङ कार्यक्रम संचालिकाका रुपमा काम गरेकी थिईन् । वि.सं. २०७२ सालमा व्यक्तिगत समस्याका कारण थाहा सञ्चारबाट बिदा भएकी उनी अहिले पून थाहा सञ्चारमा नै कार्यरत छिन् ।

अध्यक्षका आकाँक्षी दुदुमाया सिन्तान र धर्मराज स्याङ्तान

अध्यक्षका आकांक्षी एवं शाखाका उपाध्यक्ष धर्मराज स्याङ्तानले वि.सं. २०६८ सालमा ‘सेकेण्ड कमिङ टाईम्स’ साप्ताहिकबाट कार्यकारी सम्पादकका रुपमा पत्रकारिता सुरु गरेका हुन् । उनले त्यसको लगत्तै मुख्य रुपमा मनहरी क्षेत्रमा वितरण हुने ‘टण्टला’ साप्ताहिकमा काम गरेका थिए । हाल आलेखहरु लेखन तथा साहित्यमामा उनी सक्रिय छन् ।

त्यस्तै अध्यक्षका अर्का दाबेदारका रुपमा देखिएका चन्द्र घलानले वि.सं. २०६६ सालमा शक्ति एफ.एम.बाट पत्रकारिता सुरु गरेका हुन् । शक्ति एफ.एम.मा युवामाझ लोकप्रिय कार्यक्रम ‘किन लाग्छ माया ?’ चलाएपछि एकाएक चर्चामा आएका घलान अहिले तु खबर डटकम अनलाईनमा कार्यकारी सम्पादक छन् । साथै रेडियो अनमोलमा प्रोडक्सन म्यानेजर र समावेशी चिन्तन साप्ताहिकमा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् । विभिन्न सञ्चार माध्यममा कार्यरत उनी ८ वर्षदेखि क्रियाशिल छन् ।

वि.सं. २०७० सालसम्म शक्ति एफ.एम.मै कार्यरत घलानले त्यसपछि रेडियो सरोबरमा स्टेसन कोअर्डिनेटरका रुपमा काम गरेका थिए । त्यस समयमा समेत युवामाझ लोकप्रिय कार्यक्रम चलाएर चर्चामा आएका उनी तामाङ सञ्चार मकवानपुरका सह–सचिव, नेपाल पत्रकार महासंघका कार्य समिति सदस्य र आदिवासी जनजाति पत्रकार महासंघका कार्यसमिति सदस्य हुन् ।

अध्यक्षका आकाँक्षी चन्द्र घलान र शुभराज भोम्जन

अध्यक्षकै आकांक्षीका रुपमा शुभराज भोम्जन पनि देखिएका छन् । उनी तामाङ सञ्चार समुह मकवानपुरका सदस्य हुन् । भोम्जनले सामाजिक सञ्जाल मार्फत अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन् । बिगत ६ वर्ष देखि बिभिन्न सञ्चार माध्यममा काम गर्दै आएका सञ्चारकर्मी भोम्जनले आफ्नो उम्मेद्धारी सहि र सबल नेतृत्वको लागि रहेको बताएका छन् । भोम्जन हाल शान्तिपुर दैनिक, ईसरोकार डटकम र भोमो खबर डटकममा कार्यरत छन् ।

प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको उद्घाटन सत्रमा तामाङ सहित सांसद कुमारी मोक्तान, ओम घलान प्रदिप, हेटौँडा उपमहानगरपालिका उपमेयर मीना लामा, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानलाई समेत सम्मान गरिने बताइएको छ । अधिवेशनको तयारी समेत गरिसकिएको बताउँदै अध्यक्ष सिन्तानले सबै संचारकर्मीलाई उपस्थितीको लागि अनुरोध गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*