मेयर कप : ८ र ९ नम्बर वडा क्वाटर फाईनलमा प्रवेश
मकवानपुर, २४ फागुन । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा ८ नम्बर वडाको राजपानी क्लव र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा राजपानीले १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई र ९ नम्बरको कुष्माण्डले सहीद स्मृति शान्ति पार्क टिमलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् । ८ र ९ नम्बर वडाको बीचमा सेमीफाइनल प्रवेशको लागि २६ गते दिउँसो १ बजे भिडन्त हुनेछ ।
बिहीबारको पहिलो खेलमा कुष्माण्डले शान्ति पार्क टिमलाई ४–१ गोल अन्तरले हराएको हो । कुष्माण्डको लागि चौथो मिनेटमा डेबिट लामाले गोल गर्दै अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अभिशेक मगरले गोल गर्दै अग्रता दोब्बर पारे । कुष्माण्डकै लागि क्याप्टेन अमिर श्रेष्ठले २९ र ३८ औं मिनेटमा गोलको योगदान दिए । ४४ औं मिनेटमा सहिद स्मृति शान्ति पार्कको तर्फबाट सन्देश दुलालले सान्त्वना गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच कुष्माण्ड टिमका अमिर श्रेष्ठ भए । उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै दोस्रो खेलमा ८ नम्बर वडाको राजपानी टिमले ‘बाई’ पाएर बसेको १९ नम्बर वडाको चनौटा तपोवन क्लवलाई ३–० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । राजपानीको तर्फबाट ३७ औं मिनेटमा सुमन थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका राजपानीका अस्मिर वाइबाले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दोब्बर पारे । राजपानीको लागि सुमन थापाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ३–० ले विजयी बनाए । खेलको म्यान अफ दी म्याच राजपानीका विजय घलान भए । उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
जारी प्रतियोगितामा भोली शुक्रबार सेमीफाइनल प्रवेशको लागि १० नम्बर वडा र ११ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १ नम्बर वडा र २ नम्बर वडाको बीचमा हुनेछ ।
