सोलुखुम्बुको सोलु अस्पतालमा यसकारण भयो उपचाररत सुत्केरीको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २०:४३

सल्लेरी, सोलुखुम्बु, २४ फागुन । सुत्केरीलाई बचाउने सोलु अस्पताल फाप्लुका चिकित्सकको प्रयास असफल भएको छ ।

बुधबार सुत्केरी व्यथा लगेर अस्पताल भर्ना भएकी थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाकी १८ वर्षीया अनिषा राईलाई बचाउन सकिएन । सामान्य तरीकाले शिशु जन्माएकी राईको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा राजेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

आज अपराह्न १ः४५ बजे छोरालाई जन्म दिएकी राईको सालसँगै पाठेघरसमेत योनीमार्गमा आएर अत्याधिक रक्तश्राव भएको डा बस्नेतले बताउनुभयो । “तत्काल उपचार सम्भव नभएपछि जनरल एनेस्थेसिया पद्धतिबाट उपचार गर्नुपर्ने भएपछि थप उपचारको लागि मिसन अस्पताल ओखलढुंगा रेफर गरिएको थियो”, उपचारमा संलग्न डा दिलीप कोजुले भन्नुभयो, “पूरै शरीर बेहोश बनाएर पाठेघरलाई यथास्थानमा राख्ने या शल्यक्रियामार्फत पाठेघर काटेर फाल्नुपर्ने हुन्छ, यो उपचार सेवा अञ्चल अस्पतालमाथि बाहेक अन्यमा उपलब्ध हँुदैन, त्यसैले रेफर गर्नुको विकल्प थिएन ।”

“अत्यधिक रक्तश्राव हुन थाल्यो, ओ पोजेटिभ रगत आवश्यक पर्ने भएपछि अस्पतालक स्वास्थ्य सहायक आङलह्मु लामाले रगतसमेत दिनुभएको थियो”, डा बस्नेतले भन्नुभयो, “मिशन अस्पताल ओखलढुंगामा सम्पर्क गरी थप उपचारका लागि तत्काल जीप खोजेर डा कोजु र स्टाफ नर्ससहित त्यसतर्फ लागेका थियौँ, सुत्केरीको बाटोमै मृत्यु भयो ।

सुत्केरी बचाउन रगतसहित गए पनि करीब २० किमीको दूरीमा पर्ने तिङ्लाको रमितेमा उनको मृत्यु भएको थियो । आफन्तले जिल्लामा स्रोत र साधन नहुँदाको उपज आफूहरूले भोग्नुपरेको प्रतिक्रिया दिएका छन् । बाटामै मृत्यु भएको शंका लागेपछि सुत्केरीलाई पुनः जिल्ला अस्पताल फाप्लु नै फर्काएर इसिजी गरिएको थियो । सुत्केरीको जेठाजु नाता पर्ने थामकुमारले भन्नुभयो, “जिल्लामा स्रोतसाधनयुक्त अस्पताल नहुँदा सुत्केरीको अकालमै ज्यान गयो, राज्यले ध्यान दिनु जरुरी छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*