सुचिकारको हत्यामा संलग्न दश पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार २१:११
तस्बिर–गुगल

काठमाडौँ, २२ फागुन । महानगरीय प्रहरी वृत्त बालाजुले कुमार सुचिकारको हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

वृत्तले नुवाकोट घर भई कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भई शेषमती बस्ने आइतसिंह तामाङ र सोलुखुम्बु घर भई शेषमती बस्ने राजन मगर र दोलखा घर भई नयाँबसपार्क बस्ने पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको छ ।

वृत्तले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकाले पुरानो गुह्वेश्वरी एजी फेसबुक समूह सञ्चालन गरेको र उक्त समूहमा कुमार जोडिएर उनीहरुलाई उक्त समूहबाट हटाई नयाँ साथी जोडेपछि पक्राउ समूहले रिसको झोकमा कुमारलाई हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा वृत्तका प्रमुख विश्वराज खड्काले सामाजिक सञ्जालमार्फत कुरा नमिल्दा माघ २६ गते साँझ ७ बजे फुलबारी गेटमा ढुङ्गा र फलामको रडले हानेर घाइते बनाई फालेको र उपचारका क्रममा माघ २९ गते ट्रमा सेन्टरमा कुमारको निधन भएको बताउनुभयो । उहाँले घाइते व्यक्तिको उपचारका क्रममा पहिचान खुल्न नसकेकाले हत्यारा पक्राउ गर्न केही ढिला भएको बताउनुभयो । पक्राउ परेका १० मध्ये आठ जनालाई अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*