मेयरकपमा आज वडा नम्बर ८ र १६ विजयी
मकवानपुर, २२ फागुन । हेटौँडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा ८ नम्बर वडा र १६ नम्बर वडा विजयी भएका छन् । पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ गोल र दोस्रो खेलमा १६ नम्बरले १३ नम्बर वडाको पदमपोखरी फुटबल टिमलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएको हो ।
८ नम्बरको लागि खेलको तेस्रो मिनेटमै अस्मिर वाईबाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा वाईबाले नै ८ नम्बरको लागि व्यक्तिगत दोस्रो गोल गरे । यता ८ नम्बरका सुमन थापाले ४९ र ५६ औं मिनेटमा गोल गरेका हुन् । १७ नम्बरको तर्फबाट अर्जुन राईले ४० र महेश गोङ्बाले ६१ औं मिनेटमा गोल गरेपनि हारबाट टिमलाई जोगाउन सकेनन् । खेलको म्यान अफ दी म्याच भएका ८ नम्बर वडाका अस्मिर वाईबाले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
१६ र १३ नम्बर वडाको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरको माध्यमबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले १६ नम्बर वडा विजयी भयो । १६ नम्बरका गगन शिलवाल, विश्वास सापकोटा, किरण चौलागाइँ र अजय सापकोटाको प्रहार गोल भएको थियो भने सुमन श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । यता पदमपोखरीको तर्फबाट रबि थिङ, विशाल थिङ र कमल गौतमको प्रहार मात्र गोल भयो । श्रीलाल स्याङ्तानको प्रहार आकाशिदा नरेन्द्र गोलेको प्रहार १६ नम्बर वडाका गोलरक्षकले रोकेका थिए ।
खेलको म्यान अफ दी म्याच भएका १६ नम्बरका डिफेण्डर गगन शिलवालले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । जारी प्रतियोगितामा भोली बुधबार २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुनेछ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा फागुन १९ गतेदेखि खेल जारी छ । फागुन २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयासहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
