युवा रुपान्तरित नेतृत्वका लागि ५ दिने सेमिनार हेटौँडामा शुरु

तु खबर संवाददाता
२०७४ फाल्गुन २२, मंगलवार १४:०७

मकवानपुर, २२ फागुन । हेटौँडामा ५ दिने ‘रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार’ मंगलबारबाट शुरु भएको छ । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा हेटौंडा—५, सानो पोखरामा अवस्थित संघको सभाहलमा सेमिनार शुरु भएको हो ।

सेमिनारमा संघका भक्तपुर शाखा संयोजक तथा युवा प्रशिक्षक हरिबहादुर खत्री, हेटौँडा शाखा संयोजक सुवाश लामा, धादिङका संयोजक दिपक सापकोटा, उदयपुर शाखा संयोजक ईन्द्र खतिवडा र विरगञ्ज शाखा संयोजक हरिबहादुर लोप्चनले प्रशिक्षण दिने छन् । साथै सामाजिक सेवामा लागिरहेका विशिष्ट व्यक्तित्वहरुबाट प्रेरणादायी कक्षाहरु समेत संचालन हुने संघका हेटौँडा शाखा संयोजक लामाले बताए ।

५ दिन सम्म यूवाहरुलाई एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइने छ । साथै नेतृत्व विकासका विभिन्न क्रियाकलापहरुमा समेत व्यवहारिक रुपमा उनीहरुलाई सामेल गराईनेछ । सेमिनारमा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषय वस्तुमा आधारित भएर प्रशिक्षण दिइने संयोज सुवास लामाले बताए । त्यसका साथै सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक, ज्ञानमूलक, सेवामूलक र चेतनामूलक गतिविधिहरुका बारेमा समेत प्रशिक्षार्थीहरुको प्रत्यक्ष सहभागीतामा विविध प्रस्तुतिसहितको कक्षा संचालन हुने संयोजक लामाले जानकारी दिए । सेमिनारमा ३० जनाभन्दा बढी सहभागी रहेका छन् ।

संघले युुवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ । ‘चरित्रवान् व्यक्ति नै असल परिवार,समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा हो । व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएकाले यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले सेमिनार गरिएको हो’ लामाले भने, ‘ उचित ज्ञान र शिक्षाको अभावमा अपराध र बिकृति बढ्छ, त्यसलाई रोक्नु मात्र होइन अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता हो, त्यसको जिम्मेवारी हामीले बोध गरेर यस्ता कार्यक्रम संचालन गरेका हौ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*