भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन नेपाली टोली इरान जाने

तु खबर संवाददाता
२०७४ फाल्गुन २०, आईतवार २०:०७

 काठमाण्डौं २० फागुन  भारोत्तोलन च्याम्पियनसीपमा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली इरानको अहभाज प्रस्थान गर्ने भएको छ ।

मार्च ६ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ किलो तौल समूहमा कमलबहादुर अधिकारी, ८५ किलोमा सुरेन्द्र श्रेष्ठ तथा १०५ किलोमा पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा दिनेश भुजेल छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार छन् । तीनै खेलाडी पोखरामा गत पुस अन्तिम साता भएको राखेप च्याम्पियनसीपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण विजेता हुन् । फेजर कपमा नेपालको यो पहिलो सहभागिता हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आज एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । उनले वर्तमान सरकार खेलमैत्री भएको हुनाले आगामी आर्थिक वर्षमा खेलकुदमा अहिलेसम्मकै सर्वाधिक बजेट विनियोजन हुने विश्वास व्यक्त गरे। टोली भोली त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*