मेयर कपमा विजयको डबल ह्याट्रिक , वडा नम्बर १० र ३ विजयी
मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलमा वडा नम्बर १० र दोस्रो खेलमा वडा नम्बर ३ विजयी भएको छ ।
दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० को भुटनदेवी फुटबल टिम विजयी भएको हो । वडा नम्बर १० ले वडा नम्बर १५ चुरियामाई फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गरेको हो । वडा नम्बर १० का लागि खेलको ६१ औँ मिनेटमा सुमन छुमीले निर्णायक गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच भुटनदेवीकै सुरज बिष्ट घोषित भए । उनले नगद एकहजारसहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै दोस्रो खेल वडा नम्बर ३ को बसा महादेव टिम बसामाडीले सर्वाधिक ८–० गोल गर्दै वडा नम्बर १८ हर्नामाडी कला प्रतिष्ठान टिमलाई पराजित गरेको छ । बसमाडीका फरवार्ड विजय दोङ खेलको नायक बने । उनले व्यक्तिगत ७ गोल गर्दै एकै खेलमा दोहोरो ह्याट्रिक गरे । १९ मिनेटमा राजकुमार लामाको गोलबाट अग्रता लिएको बसामाडीको लागि विजय दोङले २०, २४, २८, ५१, ६४, ६९ र ७२ मिनेटमा गोल गरेका हुन् ।

तस्बिर–दिलबहादुर लामा
दोस्रो खेलको म्यान अफ दी म्याच दोङ नै घोषित भए । उनले नगद एक हजारसहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे साथै वडा अध्यक्ष र नगरपालिकाका अमोद मैनालीले समेत एक–एक हजार रुपैँया प्रदान गरे ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
यो वर्षको मेयर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । नकआउटमा खेलाईने खेलमा उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने छन् ।
प्रतियोगिताको हिजो भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन ७ नम्बर वडालाई हराउँदै पहिलो संस्करणको विजेता १ नम्बर वडाको पाथिभरा फुटबल क्लव विजयी भइसकेको छ । जारी प्रतियोगितामा भोलि पनि दुई खेल सञ्चालन हुनेछ ।
