मेयरकप : आइतबारको पहिलो खेलमा वडा नम्बर १० विजयी, दोस्रो खेलमा वडा नम्बर ३ अगाडि
-चन्द्र घलान
मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ । पहिलो खेलको नतिजा आइसकेको छ भने दोस्रो खेलमा यो समाचार तयार पार्दासम्म पहिलो हाफ चलिरहेको छ ।
दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर १० ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित गरेको हो । वडा नम्बर १० का लागि खेलको ६१ औँ मिनेटमा सुमन छुमीले निर्णायक गोल गरेका थिए ।
त्यस्तै यो समाचार तयार पार्दासम्म दोस्रो खेल वडा नम्बर ३ को पक्षमा छ । वडा नम्बर ३ ले पहिलो हाफमा नै वडा नम्बर १८ लाई ४ गोल हानेको छ भने वडा नम्बर १८ बाट कुनै गोल हुन सकेको छ ।

तस्बिर–दिलबहादुर लामा
वडा नम्बर ३ का लागि पहिलो हाफको १९ औँ मिनेटमा राजकुमार लामाले १ गोल र विजय दोङले २०,२४ र २८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेका छन् । दोस्रो खेलको अन्तिम नतिजा भने आउन बाँकी छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
यो वर्षको मेयर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । नकआउटमा खेलाईने खेलमा उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने खेल व्यवस्थापन आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले बताए ।
प्रतियोगिताको हिजो भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन ७ नम्बर वडालाई हराउँदै पहिलो संस्करणको विजेता १ नम्बर वडाको पाथिभरा फुटबल क्लवले विजय यात्रा सुरु गरेको छ ।
