मेयरकपमा आज २ खेल, वडा नम्बर १० र १५ तथा ३ र १८ भिड्ने
मकवानपुर, २० फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएको छ ।
दिउँसो १ बजे हेटौँडाको हुप्रचौरमा हुने पहिलो खेलमा वडा नम्बर १० र १५ भिड्नेछन् । त्यस्तै दोस्रो खेल वडा नम्बर ३ र १८ बिचमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाको सहभागिता रहेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा विगत ३ बर्षदेखि नगरभित्रको वडाको बीचमा फुटबल हुँदै आएको छ । दोस्रो संस्करणसम्म हेटौंडा नगरकप फुटबलको नाममा सञ्चालन हुँदै आएको वडास्तरीय फुटबल प्रतियोगिता यस बर्षबाट मेयरकप फुटबल प्रतियोगिताको नाममा सञ्चालन भएको हो ।
यो वर्षको मेयर कपमा विजेता टिमले १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । नकआउटमा खेलाईने खेलमा उत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने खेल व्यवस्थापन आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले बताए ।
प्रतियोगिताको हिजो भएको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन ७ नम्बर वडालाई हराउँदै पहिलो संस्करणको विजेता १ नम्बर वडाको पाथिभरा फुटबल क्लवले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै पाथिभराले विजय यात्रा सुरु गरेको हो । ७ नम्बर फुटबल टिमले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्नुपरेको हो ।
१६ औं मिनेटमा भुवन बुढाथोकीको पासमा अनिल थापाले ७ नम्बरको लागि गोल गर्दै अग्रता दिलाएका थिए । २३ औं मिनेटमा ७ नम्बरका किरण गुरुङले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आएको थियो । ५२ औं मिनेटमा पाथिभरा फुटबल क्लवका लागि सुमन लामाले गोल निर्णायक गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ दी म्याच पाथिभराका कृष्ण लामा भए । उनलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले नगद पुरस्कार प्रदान गरेका थिए ।
