अपडेट–यसकारण भयो पदमपोखरीमा झडप, १६ पक्राउ, ५ घाईते

तु खबर संवाददाता
२०७४ फाल्गुन १८, शुक्रबार १२:०५
file photo

मकवानपुर, १८ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमापोखरीमा गएराति झडप भयो । झडप के कारणले भयो भन्ने सबैको खुलदुलीको विषय बनेको छ । यस विषयमा तु खबरले मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालसँग टेलिफोन वार्ता गरेको थियो ।

एसपी खनालका अनुसार सामान्य विवादबाट शुरु भएको घटनाले झडपको रुप लिएको हो । केही स्थानीय युवाले होलीका दिनमा मादक पदार्थ खाएर होहल्ला शुरु गरेपछि उनलाई नियन्त्रणमा लिन गएका प्रहरीमाथि नै स्थानीय युवाहरुसहितको जत्था नै जाईलागेपछि घटना झडपको स्थितिमा पुगेको हो । स्थानीयले त्यस समयमा झडप शुरु नगरेको भए घटना सामान्य अवस्थामा नै सकिने थियो । तर नियन्त्रणका लागि गएका प्रहरीलाई नै जाई लाग्न थालेपछि पदमपोखरी वडा प्रहरी र सामुदायिक प्रहरीबिटले सहयोगका लागि पशुपतिनगर प्रहरीलाई सहयोग मागेको थियो तर उनीहरुलाई समेत स्थानीय युवाहरुको टोली जाई लागे र सामुदायिक प्रहरी बिटको भवनमा समेत ढुङ्गामुढा प्रहार भयो । झडपबाट स्थानीय र प्रहरी समेत घाईते भएको एसपी खनालले बताए ।

हल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीले आफुमाथि नै खुकुरी, भाला लगायतका घरेलु हतियार लिएर आक्रमणम नै गर्लान् भन्ने सोचेका सम्म थिएनन् तर स्थिति उल्टो भयो । आक्रोशित युवा जमातले प्रहार गर्दा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएको खनालले बताए । घाइतेहरु उपचारपछि डिस्चार्ज भएका छन् । झडपका क्रममा केही स्थानीय बासिन्दा पनि घाइते भएका छन् ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ समेत गरेको छ । सामुदायिक प्रहरी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले समेत स्थिति नियन्त्रणमा लिन नसकेपछि एसपी खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । झडपले ठूलो रुप लिएपछि केही स्थानीयहरु समेत बाहिर निस्कन सकेनन् । ‘आक्रोशित ग्याङले हामीलाई नै मार्लान् भन्ने डर भो’ एक स्थानीयले तु खबरलाई भने ।

तु खबरसँग कुराकानी गर्दै एसपी खनालले शान्ति सुरक्षा कायम गर्नका लागि समुदायका व्यक्तिले समेत सहयोग गर्न आग्रह गरे । ‘हिजोको घटनामा यदि स्थानीयले पहिला नै सहयोग गरेका भए त्यति ठूलो झडप हुँदैनथ्यो ।’ उनले भने,‘यदि नियन्त्रणमा गएका प्रहरीलाई त्यसरी समूह नै उर्लिएर प्रहार नगरका भए घटना सामान्य रुपमै सकिन्थ्यो, प्रहरीमाथि नै प्रहार भयो भने स्थानीयको सुरक्षामा कसरी प्रहरी लाग्न सक्छ ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*