आज प्रदेश ३ को मन्त्रिपरिषद बिस्तार हुने, मुख्यमन्त्रीलाई प्रधानमन्त्री र प्रदेश संयोजकको कडा दबाव
मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा आज बुधबार मन्त्रीपरिषद बिस्तार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ ।
यस अघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् । आज हुने मन्त्रीपरिषद बिस्तारमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले सपथ ग्रहण गर्ने सम्भावना रहेको बताइएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएको श्रोतले बताएको छ । त्यस्तै लामालाई पनि ओलीले नै सिफारिस गरेको चर्चा छ । माओवादीबाट भने कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको चर्चा चल्दै आएको छ ।
त्यस्तै प्रदेश संयोजक शाक्यले भने प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने अडान राखेक छन् । उनले मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने अडान राखेकी हुन् ।
शाक्यले पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताइएको छ । तर मुख्यमन्त्री पौडेलले प्रधान मन्त्री ओलीको पक्षमा नै रहने देखिएको छ ।
