हेटौँडालाई प्रदेश राजधानी नबनाउने षड्यन्त्र शुरु, चौतर्फी घेरामा मुख्यमन्त्री पौडेल

मकवानपुरमा वामको अस्तित्व सकिने चर्चा
तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १३:२१

–चन्द्र घलान
मकवानपुर, १५ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरिसकेपछि अहिले प्रदेश कानुन निर्माणको तयारीमा ३ नम्बर प्रदेश सरकार अगाडि बढेको छ । तर सोमबार नै सकिएको बैठकपछि ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई बन्न नदिने र मुख्यमन्त्री डोरमणि पौडेललाई असफल बनाउने षड्यन्त्र सुरु भइसकेको आंशिक खुलासा भएको छ ।

मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले आईतबार सभामा पेश गरेको मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएर बैठक समापन भएपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै मुख्यमन्त्री पौडेलको आलोचना गरे । उनले सरकार नीति निर्मााणतिर नलागी अनावश्यक अनुगमन र निर्देशन दिन तल्लिन रहेको आरोप लगाए ।

मुख्यमन्त्रीमा नियुक्ति भएसँगै मुख्यमन्त्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकटेलसहितको टोलीले धादिङ जिल्लाको समेत भ्रमण गरेका थिए । मुख्यमन्त्री पौडेलकै टोलीले नारायणगढ–काठमाडौँ सडकमार्गको अनुगमन गरि काम सुचारु गर्न निर्देशन समेत दिएको थियो ।

पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘नारायणगढ मुग्लिन सडक प्रदेश सरकारको नभइ राष्ट्रिय सरकारको हो भन्ने कुरा त मुख्यमन्त्रीज्यूले बुझ्नुपर्यो नि ?’ मैले सकरात्मक सुझाव दिएको छु, यस्तो गर्नु प्रदेश सरकारलाई शोभा दिँदैन ।’

पत्रकारसँग मात्र होईन उनले सचिवालय बैठकमा समेत ३ नम्बर प्रदेश सरकारको चर्को आलोचना गरे । ३ नम्बर प्रदेशमा फाष्ट ट्रयाकमा कानुन बनाउने भन्ने कुराको समेत उनले आलोचना गरेका हुन् । उनले सबै परिस्थितिमा फाष्ट ट्रयाकबाट ऐन नियम नबन्ने बताएका हुन् । मुख्यमन्त्रीलाई ऐन नबनेसम्म बैठक बोलाउने हैसियत पनि नभएको उनले दाबी गरे ।

‘मुख्यमन्त्रीलाई पार्टीबाटै खतरा’
मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टी नेकपा एमालेका नेता सांसदहरुबाट घेराबन्दीमा परेको अड्कल अधिकांश नेता कार्यकर्ताले गरेका छन् । मुख्यमन्त्रीलाई पार्टीले नै धेरै समय बधाई ग्रहण गर्दै नहिड्न निर्देशन समेत दिएको बुझिएको छ ।

३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई बनाइएको कुराले पनि पौडेल चेपुवामा परेका छन् । जनतामाझबाटै मुख्यमन्त्री पदसँग राजधानी साटेको भन्ने आलोचना खेपीरहेका पौडेलले आफुले राजधानीसँग पद नसाटेको भन्दै स्पष्टीकरण दिएपनि त्यसलाई जनताले विश्वास गरेका छैनन् । पछिल्लो चरणमा आएका हल्लाहरुले उनी झन् समस्यामा छन् ।

जानकारहरुका अनुसार मुख्यमन्त्री पौडेललाई पार्टीकै सांसदबाट समस्या हुनसक्ने देखिएको छ । प्रदेश राजधानी हेटौँडालाई मागेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीसँग राजधानी र मुख्यमन्त्री बाहेक कुनै एक छान्न बाध्य पार्ने नेताहरुको भनाई रहेको छ । त्यस्तै राजधानीकै विषयलाई लिएर एमालेकै सांसद राजेन्द्र पाण्डेसहित भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित समेत उनकै विरुद्धमा लागेको आरोप छ ।

‘कर्मचारीको चलखेल’
मुख्यमन्त्री पौडेलले पदभार ग्रहण गरेकै एक महिना हुन लागीसकेको अवस्थामा पनि अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नहुनुले प्रदेश राजधानी हेटौँडालाई बन्न नदिने र मुख्यमन्त्री पौडेललाई असफल बनाउने षड्यन्त्र शुरु भएको कुरालाई थप प्रमाणित गरेको छ । मकवानपुरका धेरै जसो नेता कार्यकर्ताहरुले मुख्यमन्त्री पौडेललाई साथ नदिएका नेताहरुकै दबाबमा सरकारले खटाएका कर्मचारीहरु कार्यालयमा हाजिर नभएको आरोप लगाएका छन् ।
प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा सचिवालय र ७ मन्त्रालयका लागि २ सय ३७ कर्मचारी खटाइएपनि अहिले सम्म ६८ जना कर्मचारी मात्र हाजिर गर्न आईपुगेका छन् बाँकी १ सय ६९ कर्मचारी बेखबर छन् ।

‘मकवानपुरमा वामको भविष्य सकिने चर्चा’
मुख्यमन्त्री र राजधानीकै विषयमा खिचातानी भएमा मकवानपुरमा वाम गठबन्धनको भविष्य सकिने राजनीतिक विश्लेषकहरुको दाबी छ । स्रोतका अनुसार मकवानपुरमा आफु असफल भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितको टोलीले मकवानपुरमा ३ नम्बर प्रदेशको राजधानी बनाएर बाम गठबन्धनलाई हल्लाउने खेल खेलेका छन् । यदि ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई कायम राख्न नसकेमा ३ नम्बर प्रदेशमा दुई तिहाई भएको एमाले र एमालेसँग मिलेर सरकार निर्माण गरेको माओवादी गठबन्धनलाई जनताले लोप्पा खुवाईदिने मोडललाई आधार मानी थापाले यस्तो राजनीतिक चाल चालेको जानकारहरु बताउँछन् ।

तु खबरसँग कुराकानी गर्दै नाम नबताउने शर्तमा एक वाम नेताले मकवानपुरको हेटौँडालाई राजधानी कायम राख्न नसकेमा आफुहरुलाई ठूलो खतरा रहेको बताए । उनले यो सबै मोडल थापाकै भएको आरोप समेत लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*