बिपिन र थिन्लेको ‘नाका’ले फागुन १७ गतेदेखि हल कब्जा गर्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १५:५७

-चन्द्र घलान
मकवानपुर, १४ फागुन । फरक विषयलाई लिएर निर्माण भएको नेपाली कथानक चलचित्र ‘नाका’ को प्रदर्शन यही फागुन १७ गते मोफसलमा रहेका हल र १८ गतेबाट काठमाडौँ उपत्यकामा प्रदर्शन हुने भएको छ ।

चलचित्रका प्रचारका क्रममा आज हेटौँडा आईपुगेका चलचित्र टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै चलचित्र नेपालका विभिन्न नाकामा हुने गरेका गुण्डागर्दी, लागुपदार्थ ओसारपसार लगायतका विषयमा बनेको जानकारी दिएका छन् । चलचित्रको ट्रेलर तथा टिजरबाट राम्रो फिडब्याक पाएको भन्दै नायक बिपिन कार्कीले चलचित्र विशेष गरि युवावर्गलाई लक्षित गरि निर्माण गरिएको बताएका छन् ।

फरक चलचित्रमा फरक रोल निभाएका बिपिनले यस चलचित्रमा पनि फरक चरित्रमा अभिनय गरेका छन् । उनी चलचित्रमा नाका क्षेत्रमा हुने डनहरुको प्रतिनिधि पात्रका रुपमा उभिएका छन् ।

त्यस्तै यसै चलचित्रबाट डेब्यू गरेकी नायिका थिन्ले ल्हामोले यो चलचित्रमा आफुले तिब्बतबाट नेपाल हुँदै भारत जाने पात्रको भूमिका निभाएको बताईन् । आफ्नो पहिलो चलचित्र भएकोले चलचित्रको पात्रलाई न्याय गर्ने कोशिस गरिएको उनले बताईन् ।

बाह्रबिसे, सिन्धुपाल्चोक लगायतका सेरोफेरोमा निर्माण गरिएको चलचित्र करिब ९० लाख बजेटमा निर्माण गरिएको बताइएको छ । चलचित्रको युनिट पोखरा, बुटवल, चितवन हुँदै मकवानपुरमा आईपुगेका हुन् ।

चलचित्रमा बिपिन कार्की, थिन्ले ल्हामो, रोबिन तामाङ, शिव मुखिया र केशब राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका छन् भने, प्रविन थर्की कार्कीले निर्माण गरेका छन् ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नायिका थिन्ले ल्हामो, बिपिन कार्की, चलचित्रका निर्माता सहितको टोली उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*