कैलाली जिल्ला अदालतमा रेशम चौधरीको बयान लिइँदै

टिकापुर हत्या प्रकरणका दोषी चौधरीको आत्मासमर्पण
तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १५:३९

कैलाली, १४ फागुन । जिल्ला अदालत कैलालीमा आत्मासमर्पण गरेका टिकापुर हत्या प्रकरणका मुख्य ओरोपी रेशम चौधरीको कैलाली जिल्ला अदालतमा बयान लिन सुरु गरिएको छ । थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ९ जनाको हत्या भएको घटनाका मुख्यअभियुक्त ठानिएका चौधरीको बयान लिइएको हो ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेका वेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्ययोजनाकारका रूपमा प्रहरीले रेशमलाई लिएको छ ।

घटनापछि फरार रहेका चौधरी आज बिहान ११ बजेर १४ मिनेटमा अदालत पुगेका थिए । जिल्ला अदालत कैलालीका श्रेस्तेदार इन्द्रबहादुर कठायतले चौधरीसँग बयान लिइरहेको बताइएको छ । जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सरकारी वकिलहरूले चौधरीसँग बयान लिइरहेका छन् । बयान सकिएलगत्तै मुद्दामा बहस सुरु हुने श्रेस्तेदार कठायतले जानकारी दिएका छन् ।

चौधरीको पक्षमा अधिवक्ता गंगाराम उपाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गर्दैछन् । बहसपछि अदालतले सामान्य तारिख, धरौटीमा रिहा गर्ने वा थुनामा राख्न आदेश दिनसक्ने अवस्था छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट फरार अवस्थामै उम्मेदवारी दिएका चौधरी भारी मतले विजयी भएका थिए ।

टीकापुर घटनाको अभियोगमा प्रहरीले ५६ जनाविरुद्ध मुद्दा चलाएको छ । २३ जना अभियुक्त कारागारमा छन् भने दुई नाबालक भएको भन्दै आफन्तको जिम्मा लगाइएको छ । अन्य फरारको सूचीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*