ज्वाला देवि प्रावि डुमारेको वर्तमान : फेरिँदो मुहार

गिरिजा अधिकारी / मकवानपुर
तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १४:००

हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बसामाडीमा पर्छ, ज्वाला देवि प्राथमिक विद्यालय । भौगोलिक रुपमा विकट यो प्रा.विमा अध्ययन गर्ने विद्यार्थीहरु एक घुट्को पानी पिउन पनि सोच्नु पर्ने अवस्थामा छन् । विद्यालय प्रशासनले ३ किलोमिटर टाढाँबाट पानी ल्याएर विद्यार्थीलाई खुवाउँछ । शौचालय जान पानीको चरम समस्या छ । जसका कारण शौचालय त छ तर पानी नभएर त्यसको प्रयोगमा पनि समस्या छ । एक किमि पर पानीको राम्रो स्रोत छ तर त्यहाँबाट पानी विद्यालयसम्म ल्याउन करीव करोड खर्च गर्नुपर्ने अवस्था छ । विद्यालयमा जति विद्यार्थी पढ्छन् ती सबै सयप्रतिशतनै जनजाति समुदायका छन् । उनीहरुको विकासमा डुमारेको प्रा.वि स्कूलमा पढाउने ३ जना राहतका शिक्षक लागिपरेका छन् । तर, प्रयासहरु विभिन्न कारणले सफल हुन नसकेको प्रअ परिसिमन विडारी बताउँछन् ।

त्यो माथि लेकमा वर्षायाममा वालबच्चालाई स्कूलसम्म आउन पनि समस्या छ । भुकम्पको बेला भत्किएर पूर्ण क्षतिमा सूचिकृत यो विद्यालय अहिले धमाधम बन्दैछ ।  जिल्ला आयोजना कार्यान्वयन इकाईले करीव ८० लाख रुपैयाँमा अहिले भवन निर्माण गर्दैछ । भवनको अभावमा अहिलेसम्म वालबच्चालाई अस्थायी टहरामा रखेका पढाइँदैछ । प्रअ विडारीका अनुसार, भवन निर्माणका लागि इकाईले बजेट दिएर भवन निर्माणको काम तिब्र भइरहेको छ । अबको तीन महिनामा भवन निर्माणको काम सकिन्छ । काम उहिल्यै सकिन्थ्यो तर वर्षाका कारण पहिरो र रुखहरु ढलेर बाटो अवरुद्ध भएपछि सामानहरु लेकसम्म पुर्याउन सकिएन । जसका कारण काम ढिला हुन पुग्यो ।
दुखकष्ट सहेर बाटो क्लियर गरेर फेरी सामानहरु लेकसम्म पुर्याउने काम तिब्र भो । अहिले भटाभट काम भइरहेको छ । पहिले भवन बनाइसकेपछि मात्र इकाईले रकम भुक्तानी दिने भएकाले जसले निर्माण गर्यो उसैले सबै लगानी पहिलेनै गर्नुपर्ने अवस्था भएकोले पनि काम गर्न निकै समस्या झेल्नुपरेको हो । काम सकिएपछि भुक्तानी दिने परिपाटीले गर्दा काम गर्न समस्या झेल्नुपरेको प्रअ विडारीको भनाईछ । तै पनि सबैको सहयोगका कारण काम तिब्र गतिमा अघि बढेको छ । एक सय ४ जना विद्यार्थी डुमारेको सो विद्यालयमा पढ्छन् । २५ जना वाल विकास केन्द्रमा छन् ।

इकाईले नै बसामाडी लेवटको वाल उज्जवल माद्यमिक विद्यालय, बस्तीपुरको निर्माण माद्यमिक विद्यालयलगायतका विद्यालयलाई भवन निर्माणको लागि रकम दिएको छ ।
भौगोलिक रुपमा विकट, विद्यालयको आफ्नै स्रोतको अभाव, साक्षरता दर कमी हुनु र राजनीतिक चुनौतीका कारण पनि काम गर्न सजिलो छैन । हुन् त सो क्षेत्रका सबैको सहयोगले यो विद्यालय विस्तार प्रगतिको चरणमा छ । तर, पनि भनेजस्तो वातावरणको अभावमा विद्यालयले गर्न सक्ने काम अझै गर्न नसकेको प्रअ विडारी स्वीकार गर्छन् ।
अभावमात्र होइन, यो विद्यालयको संभावना पनि कम छैन । अब भवन बनिसकेपछि क्रमै सँग कक्षा अपग्रेड गर्दै लैजाने व्यवस्था मिल्यो भने त्यो क्षेत्रमा मानिसहरु ५ कक्षाभन्दामाथिको शिक्षा प्राप्त गर्न अन्यत्र धाउनु पर्दैन । सबैलाई अनुकूल पनि हुन्छ । पूराका पूरा व्यवस्थापन गर्न सकियो भने समाज विकसित पनि हुँदै जान्छ ।

राहतका विडारी विद्यालयलाई राहत दिँदै

२०४१ मा जन्मिएका परिसिमन विडारी ग्रामिण विकास विषयमा स्नातकोत्तर गरिरहेका छन् । अब उनले आफ्नो थेसिस मात्र कम्प्लिट गर्न बाँकी छ । नीजि विद्यालयमा शिक्षण पेशामै आवद्ध उनी २०६६ मा राहत शिक्षकको रुपमा सो विद्यालय प्रवेश गरेका हुन् । विद्यालय प्रवेशको ६ महिनापछि उनले प्रअ भएर जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् । पारिवारिक ब्याकग्राउण्ड पनि शिक्षण भएकाले उनी यो पेशाप्रति आकर्षित भएको बताउँछन् । आफू सो विद्यालयमा रहँदासम्म विद्यालयलाई सबै किसिमले सुविधासम्पन्न बनाउन आवश्यक काम गर्ने उनले योजना रहेको सुनाए । म यहाँ छँदा कम्तीमा पनि विद्यालय भौतिक पूर्वाधारले सम्पन्न होस् भन्ने चाहन्छु, उनले तु खबरसँग भने ।
विद्यालय निर्माणमा जिल्ला आयोजना कार्यान्वयन इकाईले महत्वपूर्ण कोअर्डिनेशन गरेकोमा उनी खुसी छन् । अस्थायी टहारामा बसेर अध्ययन गरिरहेका वालबच्चा अब पक्की भवनमा सर्न पाउनेछन् । यसका लागि सहयोग पुर्याउने सबैप्रति उनले हार्दिक आभार पनि व्यक्त गरेका छन् ।

समस्या छन्, समाधानमा सहयोग होस्

विद्यालयमा खानेपानीको समस्या निकै ठूलो समस्याको रुपमा छ । टाढाबाट पानी ल्याएर विद्यार्थीलाई पानीको व्यवस्थापन गर्न परिरहेको
छ । यसको दीर्घकालिन समाधान हुन सके धेरै ठूलो समस्या हल हुने थियो, प्रअ विडारीले भने । उनका अनुसार, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन साधन स्रोतको व्यवस्थापनमा विद्यालय लागि परेको छ । भएको स्रोतसाधनले वालबच्चालाई मनोरञ्जन गराउने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको छ । वालवच्चाको भविश्यका लागि सुविधासम्पन्न भवन र गुणस्तरीय शिक्षामा कुनै प्रकारको कम्परमाइज् नगर्ने प्रअ विडारीले सुनाए ।
हिजोका दिनमा जति समस्याहरु थिए, ती क्रमशः समाधानको प्रयास भइरहेको प्रअ विडारीले बताए । भुकम्पले अस्थायी टहरासम्म पुर्याइदियो, हामी त्यहाँबाट पक्की भवनमा सर्ने गरी भवन निर्माणको कामलाई अघि बढाइरहेका छौँ, उनको भनाइछ । अब विस्तार अन्य समस्यालाई पनि लिपीवद्ध गरेर समाधान गर्दै जाने सोच विद्यालयले बनाएको छ । सहयोग गर्ने दाता र निकायलाई पनि विद्यालय स्वागत गर्न तयार छ, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*