पुर्कोटको विकासमा स्थानीयवासीले देखाए चासो

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १५:१३

फलेवास पर्वत, १३ फागुन । जिल्लाका करिब दुईदर्जन ऐतिहासिक कोटको सर्वत्र चासो भइरहेका बेला लामो समयदेखि छायाँमा परेको फलेवास– ३ स्थित पुर्कोटको संरक्षणका लागि स्थानीयवासीले चासो देखाएका छन् ।

समुद्र सतहबाट करिब एक हजार ९०० मिटरको उचाइमा पर्ने ऐतिहासिक महत्वको यो ठाउँ क्षेत्रफलका हिसाबले जिल्लाका अन्य कोटभन्दा धेरै ठूलो छ  ।

मल्लकालको शासन तथा नेपालको एकीकरणपूर्वका करिब साढे तीन सय वर्षसम्म भएका विभिन्न राजाका पालामा यहाँ पर्वते राजाले शासन गरेका थिए । “यहाँका पुराना संरचनाले नै यसको इतिहास बताइरहेको छ,” स्थानीय वृद्धयज्ञबहादुर खत्रीले भन्नुभयो,– “पुराना ओखल, दरबारको भग्नावशेष, इनार निशाना छन् ।” भुरेटाकुरे राजाहरूले शासन गर्ने समय धान कुट्न बनाइएका ओखल, पानी पिउन बनाइएको इनार अहिले पनि छन् । ती बाहेक राज्यभर उर्दीका लागि राखिएको घण्ट अझै छ तर भग्नावशेषका रुपमा मात्र ।

स्थानीय जानकारकाअनुसार पुर्कोटको इनार करिब दुई सय मिटर गहिरो थियो । मुस्ताङमा चिनियाँ दलाइ लामा विरोधी आन्दोलन हुँदा त्यहाँका एक लामाको टाउको यही इनारमा उत्रिएपछि स्थानीयवासीमा खैलाबैला मच्चिएको कथन छ ।

त्यतिबेला लिमिकोट, भूमेकोट, कुर्घालगायत काजीहरूले यहाँका बहुमूल्य धातु, महत्वपूर्ण भूभाग कब्जा गरेको वृद्ध यज्ञबहादुरले बताउनुभयो – “मेरा हजुरबुबाका अनुसार यहाँको धान कुट्ने ओखल लिमिठानाका काजीले बोकेर लगेछन् । भोलिपल्ट ओखल यहींँ आएर खडाभयो, त्यो दिनपछि आफैँं धान कुट्न थाल्यो,” पुर्कोटको दैविकशक्तिबारे चर्चा गर्दै उहाँले भन्नुभयो ।

दलित बस्तीको बीचमा पर्ने भएकाले पुर्कोटमा राजनीतिक नेतृत्व र जिम्मेवार निकायका व्यक्ति पुग्दैनथे  । “यहाँका सबै दलित भएकाले हाम्रा कुरा ठूलावडा नेताले पत्याएनन् । हामीले बोलेको सुन्ने र यहाँ आउने चेष्टा कसैले नगर्दा यो ठाउँ पछि प¥यो,” स्थानीय पूर्णबहादुर परियारले भन्नुभयो । “अब पुर्कोटको विकासमा स्थानीय सरकारले चासो दिनुपर्ने हाम्रो माग छ । स्थानीय डल्ली परियारले चुनावका बेला ठूल्ठूला कुरा गर्ने नेता यहाँ एकपटक हेर्नसमेत नआएको गुनासो गर्नुभयो ।
अर्का स्थानीयबासी पार्वती परियारले भन्नुभयो,– “अब भोट माग्ने नेतालाई यो ठाउँको कसम खुवाएर मात्रै भोट दिने शर्त गर्नुपर्छ, नत्र हामी एक्लै लागेर मात्र विकास हुँदैन ।”

सदरमुकाम कुश्माबाट करिब डेढ घण्टाको पैदल दूरीमा पुगिने पुर्कोट भौगोलिक दृष्टिकोणले समेत रमणीय छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनभन्दा बढी हिमाल नजिकैबाट नियाल्न सकिन्छ । पर्वत सदरमुकाम कुश्मालाई काखमा लिएर बगेका मोदी र कालीगण्डकीको दृश्यले झनै यहाँ आउनेलाई लोभ्याउछ ।
छिमेकी जिल्ला बागलुङ, स्याङ्जा र कास्कीका धेरै स्थानको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय विकासका लागि पनि राम्रो सम्भावना रहेको स्थानीय अगुवा धनबहादुर थापाले बताउनुभयो ।

“नजिकै यस्तो ठाउँबारे अहिलेसम्म सुनेकै थिइन,” लोकगायक सुदिप क्षेत्रीले भन्नुभयो,– “प्रचार गर्नसके नमूना पर्यटकीय क्षेत्र बन्नसक्ने रहेछ ।” पुर्कोट नजिकै करिब डेढसय परिवार परियार समुदायको बस्ती छ । यो बस्तीमा परम्परादेखि बजाइने पञ्जेबाजा जिल्लाकै उत्कृष्ट मानिन्छ । पुर्कोटलाई संरक्षण गरेर यहाँको सांस्कृतिक रहनसहन र लोकबाजा प्रदर्शन मात्रै गर्नसके धेरै पर्यटक भित्र्याउन सकिने अपेक्षा स्थानीयवासीको छ ।

स्थानीय युवाको समूहले पुर्कोटको विकासको सम्झावनाबारे केही साताअघि पुर्कोटमै वृहत् भेला गरेका थिए । भेलाले ‘पुर्कोट पुनःनिर्माण तथा व्यवस्थापन समिति’ गठन गर्दै चालु आर्थिक वर्षभित्रै पुर्कोटको विकासबारे गुरुयोजना तयार पारेर सम्बन्धित निकायमा पेश गर्ने तयारी थालेको अभियानका संयोजक धनबहादुर थापाले बताउनुभयो ।

हाल करिब २० रोपनीमा खुम्चिएको पुर्कोटको क्षेत्रफल बढाएर ५० रोपनी पु¥याउने, भ्यू–टावर निर्माण, जीर्ण संरचनाको संरक्षण तथा मर्मत, खेलमैदान, बगैंँचा निर्माणसहितका योजना बनाएर यहाँ जिल्लाकै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने योजना छ । “एक वर्ष्भित्रै न्यूनतम पूर्वाधारको विकास गर्ने लक्ष्य छ,” थापाले भन्नुभयो–,“दीर्घकालीन योजनाका लागि पर्यटन बोर्डसम्म पुग्छौं ।”

फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले नगरभित्रका ऐतिहासिक तथा ओझेलमा परेका संरचनाको विकास गरी पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिने बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*