अनिश्चितकालीनको लागि क्याम्पसमा तालाबन्दी

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १५:१०
file photo

राजविराज, १३ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ ।

नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आज क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताउनुभयो ।

विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ ।

सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।

रिले अनशन स्थगित

उन्नाइस दिनदेखि रिले अनशन बसेका तिलाठी कोइलाडी गाउँपालिका– १ तिलाठीका बासिन्दाले रिले अनशन स्थगन गरेका छन् । सप्तरी क्षेत्र २ प्रदेशसभा ‘क’ का सदस्य शैलेन्द्रप्रसाद साहको उपस्थितिमा अनशनमा बसेकालाई जुस खुवाएर सो रिले अनशन स्थगन गरिएको बताइएको छ ।

अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आवको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्नेलगायत विभिन्न मागसहित आन्दोलित स्थानीयवासीले प्रदेशसभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायबाट गरिएको आग्रह एवं होलीलाई हेरी हाल रिले अनशन स्थगन गरिएको स्थानीयवासी अवकाशप्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*