कर्मचारी अभावले प्रदेशसभा सचिवालयमा हाहाकार, सभा संचालन गर्नै धौ–धौ
-चन्द्र घलान
मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ मा मन्त्राय स्थापना भएको एक महिना पुग्नै लाग्दा सम्म कर्मचारी नआएपछि अहिले मन्त्रालयका कामहरु ठप्प जस्तै छ । अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नभएपछि कतिपय मन्त्रालयमा काम समेत सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा सचिवालय र ७ मन्त्रालयका लागि २ सय ३७ कर्मचारी खटाइएपनि अहिले सम्म ६८ जना कर्मचारी मात्र हाजिर गर्न आईपुगेका छन् बाँकी १ सय ६९ कर्मचारी बेखबर छन् ।
कर्मचारीको अभाव भएसँगै मन्त्रालयहरुमा जस्तै प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा समेत हाहाकार छ । प्रदेश सभा सचिवालयमा भोलिसम्मका लागि केन्द्रबाट निश्चित समयका लागि खटाइएका शाखा अधिकृत सहितको टोली रहनेछन् तर त्यसपछि भने सभा बस्न पनि निकै कठिन हुने सचिवालयका प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले बताए ।

भरतकुमार बुढाथोकी, सचिव, प्रदेश नम्बर ३ प्रदेशसभा सचिवालय
‘कर्मचारी भए त्यस्तो केही अप्ठ्याराहरु आउने थिएनन् तर कर्मचारी नै नभएपछि भने हामीलाई पनि काम गर्न समस्या छ’ उनले भने, ‘कर्मचारीको व्यवस्थापन नभएमा सभा बस्न पनि निकै अप्ठ्यारो परिस्थिति हुन्छ ।’
प्रदेशसभा सचिव सहित सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिलेसम्म केबल ८ जना मात्र कर्मचारी उपस्थित भएको सचिव बुढाथोकीले जानकारी दिए । कर्मचारी अभावकै कारण जिल्लाबाट समेत केही कर्मचारीलाई सहयोगका लागि बोलाएर कार्यमा लगाइएको उनले बताए । संसदीय दलको कार्यालय खोल्न समेत विभिन्न समस्या भएको उनको ठम्याई छ । अहिलेसम्म मर्यादापालकको भने व्यवस्था भइसकेको छ ।
अहिले सचिवालयमा माईक अपरेटर भए पनि रेकर्डिङ अपरेटर छैनन् । सचिवालयमा ३ जना उपसचिवको दरबन्दी भए पनि एक जना पनि उपसचिव उपस्थित छैनन् । त्यस्तै ३ जना शाखा अधिकृतमध्ये एक जनाले मात्र काम चलाउनुपर्ने अवस्थामा छ । अहिले भएका शाखा अधिकृत समेत केन्द्रले निश्चित समयका लागि मात्र पठाएकोले उनी पर्सि आफ्नै कार्यालयमा फर्कनेछन् । सचिवालयमा शाखा अधिकृत, रेकर्डिङ अपरेटर र उपसचिव नै नभएमा सभा बस्न निकै नै समस्या हुने सचिव बुढाथोकी बताउँछन् ।
‘माईक नभएर सुन्ने समय चलेन’
सचिवालयमा माईकको समेत समस्या देखिएको छ । साउण्ड सिस्टम समेत भाडामा लिएर चलाइएको छ । माइक नहुँदा सभामा अहिले सुन्ने समय सुचारु गर्न सकिएको छैन । सुन्ने समय केबल १ मिनेटको मात्र हुने भएकोले सांसदले पोडियमसम्म पुगेर प्रतिकृया राख्न पाउँदैनन् । सरकारी पक्ष, प्रतिपक्षी दलका नेताजस्ता तोकिएका व्यक्तिले मात्र पोडियमाबाट कुरा राख्न पाउँछन् । अन्य सांसदलाई सुन्ने समयमा माईक नभएपछि अहिले यो सेसन चलेको छैन ।
यस्तै समस्याले अन्य मन्त्रालय तथा कार्यालयहरु समेत तनावमा छ । अहिलेसम्म प्रदेश प्रमुखको कार्यालयमा सचिवसहित १५ मध्ये १३ कर्मचारी हाजिर भइसकेको सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री र सचिवसहित २१ जनाको दरबन्दी रहेकोमा १३ जना कर्मचारी उपस्थित छन् । आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा मन्त्री,सचिव सहित १८ जनाको दरबन्दी रहेकोमा अहिलेसम्म ८ जनामात्र कर्मचारी आईपुगेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री, सचिव सहित ४१ जनाको दरबन्दी रहेकोमा अहिलेसम्म ७ जना मात्र उपस्थित छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री, सचिवसहित २९ जनाको दरबन्दी रहेकोमा अहिलेसम्म ५ जना मात्र कर्मचारी छन् । त्यस्तै उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयमा २९ कर्मचारीको दरबन्दी भए पनि अहिलेसम्म ११ जना मात्र कर्मचारी उपस्थित छन् ।
सामाजिक विकास मन्त्रलायमा ३० जनाको दरबन्दी भएपनि अहिलेसम्म २ जना मात्र कर्मचारी हाजिर भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४ जनाको दरबन्दी रहेपनि अहिलेसम्म १ जना मात्र कर्मचारी छन् भने प्रदेसभा सचिवालयमा २७ कर्मचारीको दरबन्दी भए पनि अहिलेसम्म ८ जना मात्र कर्मचारी उपस्थित छन् ।
