सूर्यमुखीफूलको खेतीमा बढ्यो कृषकको आकर्षण

तु खबर संवाददाता
२०७४ फाल्गुन १२, शनिबार १५:४६

रामपुर, पाल्पा, १२ फागुन । पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ । सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हँुदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

यसवर्ष यहाँका कृषकले व्यक्तिगत र सामूहिक गरी करिब एक हजार २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीफूलको व्यावसायिक खेती गरेका छन् ।

गतवर्ष सो गाउँपालिका– १ को ठूलाचौरमा परीक्षणका रुपमा करिब ३० रोपनी क्षेत्रफलमा लगाइएको सूर्यमुखीफूलको खेतीले राम्रो उत्पादन दिएपछि यो वर्ष यसप्रति धेरैको आकर्षण बढेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउनुहुन्छ ।

यो वर्ष गाउँपालिकाको चितुङधारा, पोखराथोक, नायरनम्तलेस, दर्लमडाँडा, खानीगाउँ लगायतका क्षेत्रमा यसको विस्तार गरिएको उहाँले बताउनुभयो । सूर्यमुखीफूलको व्यावसायिक खेती गर्न गाउँपालिकाले बीउ खरिदमा रु ८० हजार रकम विनियोजन गरेको पनि प्रमुख जिसीले बताउनुभयो ।

चिर्तुङधारामा रहेको घोरबन्दा कृषक समूहमार्फत ६० रोपनी, जनज्योति महिला कृषक समूह पोखराथोकले ३० रोपनी, पोखरा थोककै प्रगतिशील कृषक समूहले २० रोपनी, मिलिजुली कृषक समूह नायर नम्तलेसले १० रोपनी क्षेत्रफलमा यसको खेती गरेका छन् ।

सूर्यमुखीफूलको बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने तथा एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हँुदा यसलाई नगदे बालीको रुपमा लिन थालेको कृषक पोषकान्त भण्डारी बताउनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*