नगरपालिकाले गर्यो माटो परीक्षण शिविर
फलेवास, पर्वत, १२ फागुन । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।
पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिखेतीका लागी माटो परीक्षण गर्न शुरु गरेको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।
ती वडाका ७० भन्दा बढी ठाउँको माटोे केन्द्रमा ल्याई विशेषज्ञबाट परीक्षण गरिन थालेको छ, उहाँले भन्नुभयो —“निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति ल्याएको हो ।”
दिगो कृषि उत्पादनको लागि नगर क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिनुभयो ।
माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटो अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गर्ने उहाँले बताउनुभयो । समस्यायुक्त माटोको अध्ययन विश्लेषण गरी सोको आधारमा नगरपालिकाले कार्यक्रम सञ्चालन गरी कृषि उत्पादन बढाउने अधिकारीले बताउनुभयो ।
परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको माटोविज्ञ टुकबहादुर थापाले बताउनुभयो । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमि हुँदा माटोको सुक्ष्म तत्वसमेत नास हुँदै जान थालेको उहाँले बताउनुभयो ।
माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्यतत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको हो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनको लागि माटोे परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न माटोविज्ञ थापाले सुझाव दिनुभयो ।
कुनै पनि माटोको अम्लीयपना थाहा पाउन वा बिरुवाको पोषक तत्व थाहापाउन साधारणतया जमिनको सतहदेखि १५ देखि २० सेन्टिमिटर तलसम्मको माटो किसानले परीक्षणका लागि ल्याउनुपर्ने फलेवास नगर कार्यपालिकाको कृषि विकास शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो ।
परीक्षणका लागि आधा किलोग्राम माटोको आवश्यकता पर्छ, उहाँले भन्नुभयो —“माटो परीक्षण शिविर यही फागुन १४ गतेसम्म जारी रहने छ ।” रासस
