लेखक आफैले गरे ‘भाया साक्रा’ सार्वजनिक

तु खबर संवाददाता
२०७४ फाल्गुन १२, शनिबार १०:०७

लन्डन, १२ फागुन । रोमान्टिक धाराका प्रसिद्ध कवि जोन किट्सको निवास लण्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’९पवित्रपथ० लेखक आफैँले सार्वजनिक गर्नुभएको छ ।

सन् १७९५ मा जन्मनुभएका किट्सको निवासलाई ‘सिटी अफ लण्डन’ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ । सो नियात्रा संग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ यात्रानुभूति समावेश छन् । बजगाईंको नियात्रा संग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण पाइन्छ ।

आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा साहित्य लेखन, सम्पादन र प्रकाशनमा सक्रिय हुनुहुन्छ । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौँ साहित्यिक कृति तथा दोस्रो नियात्रा संग्रह हो । यसअघि उहाँका ‘युरेशियाको स्पर्श’ (नियात्रा संग्रह), ‘कमरेड भाउजू’(कथासङ्ग्रह), ‘स्रष्टा र डिजिटल वार्ता’ (अन्तर्वाता संग्रह), ‘यन्त्रवत्’, ‘रोडम्याप’ र ‘कवच’(लघुकथा संग्रह),‘हिउँको तन्ना’ (हाइकु संग्रह) कृति प्रकाशन भइसकेका छन् ।

सुप्रमा साहित्य पुरस्कार (बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल), सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानद्वारा बजगाईं सम्मानित हुनुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*