हेटौँडा गोल्डकप : संकटालाई पुलिसले हरायो, फाईनलमा आर्मी र पुलिस भिड्ने
हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल जित्दै नेपाल पुलिस क्लबले फाईनलको यात्रा तय गरेको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको खेलमा संकटालाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस बिजयी भएको हो । पुलिसका लागि दिनेश राजवंशीले खेलको १८ मिनेटमा र निर कुमार राईले ५२ मिनेटमा गोल गरेका थिए ।
जीत सँगै नेपाल पुलिसले फाईनल खेलमा त्रिभुवन आर्मीसँग भिड्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दीलाई १ –० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरिसकेको छ ।
८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।
