हेटौँडा गोल्डकप : फाईनलमा पुग्न नेपाल पुलिस र संकटा भिड्दै
हेटौँडा, १० फागुन । मकवानपुरको हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुँदैछ । फाईनलमा पुग्नका लागि आजको खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्दै छन् ।
क्वाटरफाइलमा बिजय युथलाई ३–० ले पराजित गर्दै पुलिस र थ्री स्टारलाई १–० ले पराजित गर्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो । आजको बिजेताले फाइनलमा त्रिभुवन आर्मीसँग भिड्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दीलाई १ –० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरिसकेको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भइरहेको प्रतियोगिताको आजको खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।
