पदमपोखरी–वनस्पति क्षेत्रको बाटोमा धमाधम स्ल्याब ढलान हुँदै, बुद्धचोकमा कालोपत्रे

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १२:२३

-चन्द्र घलान
हेटौँडा, १० फागुन । स्थानीय सरकार आएसँगै देशका विभिन्न क्षेत्रमा विकासका गतिविधिहरु तिब्र गतिमा सुरु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १२ र १३ साविक पदमपोखरी गाविसमा पनि अहिले भौतिक विकासका योजनाहरु शुरु भएका छन् ।

यसै क्रममा हेटौँडा–१३ पदमपोखरी वनस्पतिमा पनि बुधबार स्ल्याब ढलानको सिलान्याश गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्ल्याब ढलानको सिलान्याश गरेका हुन् ।

वनस्पतिको युग चेतना विद्यालयको नजिकै रहेको जंगलबाट ३ सय मिटर लम्बाई र ६ मिटर चौडाईको स्ल्याब ढलान निर्माण सुरु गरिएको वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबाले जानकारी दिएका छन् । त्यस क्षेत्रमा गरिएको वटासिल पिच उप्कने र ठाउँ–ठाउँमा भत्कन थालेपछि मर्मत गर्ने अवस्था नभएकोले सो क्षेत्रमा स्ल्याब ढलानको कार्य आरम्भ गरिएको अध्यक्ष वाईबाले बताए ।

केही समय पहिले पदमपोखरीमा बनेको ढलान

सो स्ल्याब निर्माणका लागि उपमहानगरले २५ लाख छुटाएको छ । स्ल्याब जंगल क्षेत्रमा बन्ने भए पनि अन्य स्थानमा समेत स्ल्याब निर्माणको आवश्यकता रहेको र त्यसको लागि समेत तयारी गरिरहेको वाईबाले बताए । केही महिना अघि मात्रै पदमपोखरीको बुद्धचोकदेखि सनराईज बोर्डिङ स्कूल हुँदै करिब ३ सय ५० मिटर बाटोमा कालोपत्रे पनि गरिएको अध्यक्ष वाईबाले जानकारी दिए । १० लाख बजेटले सो सडक कालोपत्रे गरिएको हो ।

सिलान्याश गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर महतले पछि थपिएका वडाहरुलाई बढी प्राथमिकतामा राखि स्ल्याब ढलान गरिने बताएका छन् । यस अघि नै वडा नम्बर १२ पदमपोखरीको नेपाल चोक, आग्रल टोल जाने बाटो, कल्याण्टार लगायतका क्षेत्रमा वडा अध्यक्ष ललित घलान सहितको टोलीको सक्रियतामा स्ल्याब ढलान तथा नयाँ बाटोको ट्रयाक खोल्ने काम भइसकेको छ ।

बुधबार नै हेटौंडा उपमहानगरपालिका वडानंम्बर ५ बानियाँ टोलमा पनि स्ल्याब ढलानको सिलान्याश गरिएको छ । सो स्ल्याबको लम्बाई १ सय ५० मिटर र ४ मिटर चौडाई रहेका रहेको छ । यस सडकका लागि उपमहानगरपालिकाले ९ लाख रुपैयाँ सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*