हेटौँडाको चुरेहिल अस्पतालमा डायलोसिस सेवा शुरु
हेटौँडा, ९ फागुन । मकवानपुरको हेटौँडामा अवस्थित चुरेहिल अस्पतालमा डायलोसि सेवा बुधबारबाट सुरु भएको छ । यस अघि भरतपुरसम्म पुग्नुपर्ने समस्या झेलिरहेका बिरामीहरुले मृगौला फेल भए पछि उपचार गराउने सेवा अब हेटौडामा नै सेवा लिन सक्नेछन् ।
नेपालको लागि अष्ट्रेलियन राजदुत पिटर वुड, कलाकार हरिवंश आचार्य र हेटौडाका मेयर हरिबहादुर महतले संयुक्त रुपमा आज सो सेवाको उद्घाटन गरेका छन् । आरोग्य फाउन्डेसनको सहयोगमा आएको ३ वटा मेसिनबाट सेवा सुरु हुने अस्पतालले जनाएको छ । रेहिल अस्पताल र रोटरी क्लब अफ मकवानपुरको पहल र सहकार्यमा सेवा सुचारु गरिएको हो । सेवाको आज औपचारिक उद्घाटन भए पनि अहिलेसम्म २१ जनाले सेवा लिएको, ३० जनाले नाम दर्ता गरेको र ५० जनाले सोधपुछ गरिसकेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा कलाकार हरिवंश आचार्य, हेटौडा नगरका मेयर हरिबहादुर महत, डा.पुकार श्रेष्ठ, व्यवसायी कुसकुमार जोशी, अरुणराज सुमार्गी, रोटरी क्लब अफ हेटौडाका अध्यक्ष उज्जवल शर्मा भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल अस्पतालका अध्यक्ष गोकर्ण पराजुली, डा.सुन्दर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरन बहादुर जोशीको सभाध्यक्षतामा भएको थियो ।
