रेडपाण्डा संरक्षण गर्न रु ६८ लाख खर्च

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १६:०२

ताप्लेजुङ, ९ फागुन । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ९हाब्रे० को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ ।

यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो ।

नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।

मञ्चले गत वर्ष पनि रु ४३ लाख ८४ हजार ५० खर्च गरेको थियो । यसअन्तर्गत ताप्लेजुङ जिल्लामा रेडपाण्डाको वासस्थान एक हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो ।

त्यस्तै वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक अध्यापन, वासस्थान पुनःस्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालीम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम गरिएको पनि राईले जानकारी दिनुभयो ।

यस्तै सन् २०१८ मा भने क्यामेरा ट्रयापिङ सर्वे, छवटा गाउँपालिका र एक नगरपालिकाका जनप्रतिनिधिसँग पूर्वी नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना विषयक छलफल कार्यक्रम गर्ने, पशुपालकलाई सुधारिएको गोठ तथा घुम्ती प्रणाली चरिचरणबारे तालीम, अल्लो प्रशोधन तथा बुनाइ तालीम, सुधारिएको गोठ स्थापनालगायतका काम गर्ने कार्यतालिका तय गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*