प्रदेश राजधानी हेटौँडामा प्रजातन्त्र दिवस भव्य रुपमा मनाईयो
मकवानपुर, ७ फागुन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा सोमबार ६८ औं प्रजातन्त्र दिवसका अवसरमा विविध कार्यक्रम भएको छ । दिवसका अवसरमा विभिन्न संघसंस्थाले वृहत र्याली निकालेका छन् भने कतिपय संस्थाहरुले छलफल तथा विविध कार्यक्रमको समेत आयोजना गरेर दिवस मनाइरहेको छ ।
यसै बिच प्रजातन्त्र दिवस मूल समारोह समिति ३ नम्बर प्रदेशको आयोजनामा वृहत प्रभात फेरि भएको छ । हेटौँडाको बुद्धचोकबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गर्दै सिद्धार्थ माविमा पुगेर सभामा परिणत भएको थियो ।
भएको सभामा बोल्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेश सरकार संविधान, विधि एवं पद्धति पालनमा पूर्ण प्रतिवद्ध रहेको बताए । उनले संघीय शासन प्रणाली उच्चस्तरीय प्रजातान्त्रिक आचार, व्यवहार एवं कार्यशैलीसहितको व्यवस्था भएकाले सोही अनुरुप आफ्नो आचारण, व्यवहार र कार्यशैली विकास गर्नु जरुरी रहेको बताएका हुन् । उनले देशमा ३ तहको निर्वाचन सम्पन्न भई काम अघि बढिसकेको भन्दै संघ, प्रदेश र स्थानीय तहबीचको काम कारवाही सहकार्यता, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी प्रर्दशन गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, राष्ट्रिय सभाका सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
