आज प्रजातन्त्र दिवस मनाइँदै

तु खबर संवाददाता
२०७४ फाल्गुन ७, सोमबार १०:५८
६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस ¥याली ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा दोस्रो निर्वाचन स्थापना दिवसको अवसरमा काभ्रेपलाञ्चोकमा सोमबार निकालिएको ¥याली । सो ¥यालीमा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धब केसी, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखहरुलगायतको सहभागिता थियो । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*